बादल र ओलीलाई जेल हाल्न लागिएको हो र !

बादल र ओलीलाई जेल हाल्न लागिएको हो र !

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई सरकारले जेल हाल्ने तयारी गरिरहेको भन्दै देशव्यापी आन्दोलन चर्काउनुपर्ने आवाज उठेको छ । हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलले यो कुरा उठाएका हुन् । 

एमालेका एकजना सचिवका अनुसार बैठकमा प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचनको तयारी भन्नेमा छलफल हुँदा यो विषय उठेको थियो । संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जानुपर्ने प्रस्ताव गर्दै ओलीले नत्र आफूलाई समातेर जेल हाल्ने खतरा औंल्याएका थिए । 

चुनावको पक्षमा धारणा राखेका सचिवालय सदस्यहरुलाई जवाफ दिँदै उनले भने- 'हामीलाई थुनिहाल्छ, तपाईंहरू जानुस् चुनावमा ।' हिजो बेलुकी अबेर सम्पन्न बैठकले उनको चाहनाअनुसार नै संसद पुनर्स्थापनामा जाने निर्णय गरेको छ ।  

अध्यक्ष ओलीले जस्तै उपाध्यक्ष बादलले पनि नेताहरुलाई जेल हाल्ने तयारीमा सरकार रहेको बताउँदै चुनावमा जान नसकिने मत राखेका थिए । 'हामीलाई भ्रष्टाचारी भनिरहेका छन्,नेताहरूलाई डिस्क्वालिफाई गरेर चुनाव गराउने प्रपन्च छ,त्यसकारण चुनाव हैन संसद पुनर्स्थापना गर्नुपर्छ', उनले बैठकमा भनेका थिए । 

प्रतिनिधिसभा विघटनलाई प्रतिक्रान्ति र पुनर्स्थापनालाई क्रान्ति हो भन्ने तर्क गरेका बादलले पनि आन्दोलन चर्काउनुपर्नेमा जोड दिएका थिए । फागुनसम्ममा क्रान्ति गर्नुपर्छ भन्ने उनको प्रस्ताव थियो । 

बैठकमा अध्यक्ष ओली र बादलमा आतंकको मनोविज्ञान देखिएको उनै सचिवालय सदस्य बताउँछन् । भदौ २३ को जेन-जी प्रदर्शन दमन गरेको आरोपमा ओलीलाई फौजदारी कसुरमा पक्राउ गर्नुपर्ने माग उठिरहेको छ । सरकारले अघिल्लो साता समात्ने तयारी गरेकोमा पछि सुरक्षा निकायका प्रमुखहरूको सुझावपछि रोकिएको छ । 

'हामीलाई थुनिहाल्छ, तपाईंहरू जानुस् चुनावमा ।'

बादलको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको छ । उनका छोरा प्रतीक थापा यही प्रकरणमा जेलमा छन् ।  

ओली प्रधानमन्त्री र बादल गृहमन्त्री भएका बेला शरणार्थीहरूको लगत संकलन लगायत कतिपय निर्णयमाथि प्रश्न उठेको थियो । बादलकी श्रीमती नैनकला थापालाई घरमै पुगेर पैसा बुझाएको बिचौलियाहरूले बयानसमेत दिएका थिए । नेकपा विभाजनपछि उनी ओलीतिर लाग्नुको कारण यही थियो भन्ने कतिपयको दावी रहँदै आएको छ ।   

यता, एमालेले संसद पुनर्स्थापनाका लागि राजनीतिक र कानुनी पहल गर्ने निर्णय गरेकै दिन हिजो सर्वोच्च अदालतको फूल कोर्ट बैठकले इजलास संख्या थपेर भटाभट सुनुवाई अघि बढाउने निर्णय गरेको छ । नेपाल बारको पछाडि एनेक्स भवन र नयाँ बिल्डिङ्गमा चार वटा इजलास थपेर छठपछि रिट सुनुवाई शुरु गर्ने श्रीमानहरूले निर्णय गरेका हुन् । 

'तर,जुन शक्तिले यो काम गराएको हो, त्यसैले न्यायाधीशहरुलाई पनि ठेगान लगाइहाल्छ', जानकार स्रोत भन्छ, 'पुनर्स्थापनातर्फ गयो भने अहिलेका सबै न्यायाधीश बर्खास्तीमा पर्ने खतरा छ ।'

टिप्पणीहरू