राजनीतिक बन्दुकको घाउ

राजनीतिक बन्दुकको घाउ

‘जेन–जी’ विद्रोहले एकैपटक सेनाको असफलतादेखि सशस्त्र र प्रहरी दुवै निकायको वास्तविक क्षमता उदाङ्गो बनाइदिएको छ । दुई तिहाइको बहुमतसहित सत्ताको नेतृत्व गरिरहेका बेला सुरक्षाफौजको मनोबल कुन स्तरसम्म खस्किएको रहेछ भन्ने कुरा यो घटनाले स्पष्ट पारिदिएको छ ।

सेनाले प्रयोगबाट हटाइसकेका केही स्वचालित हतियार अहिले नेपाल प्रहरीले पनि बोकेको छ । माओवादीसँग थ्रिनटथ्रीका भरमा लडेको प्रहरीले अहिले एसएलआर र भारतमा उत्पादित इन्साससहितका अटोमेटिक राइफल प्रयोग गर्छ । भदौ २३ गते संसद् भवन अगाडि ग्लोबल कलेजका विद्यार्थी श्रेयम चौलागाईं टाउकोमा गोली लागेर ढले । उनीजस्तै त्यस दिन मारिएका अधिकांश आन्दोलनकारीको टाउको र छातीमा गोली लागेको पाइएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार, मारिएका प्रायः सबैको कम्मरभन्दा माथि—विशेषतः टाउको र छातीमा—गोली लागेको थियो । पोष्टमार्टममा संलग्न चिकित्सकहरू भन्छन्, “यदि गोली कम्मरमुनि लागेको भए, तीमध्ये धेरैजना बाँच्ने सम्भावना थियो।” सबै गोली शरीरको अघिल्लो भागमा हानिएको पाइएको छ ।

शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएका शवहरू सबै पुरुषका थिए । तीमध्ये सात जना भने पूरै जलेकाले डिएनए परीक्षणबाट मात्र पहिचान गर्नुपर्ने अवस्था छ । आन्दोलनमा मारिएका अधिकांश १६ देखि ४० वर्ष बीचका युवा हुन् ।

कसले चलायो त गोली ?

भदौ २४ गते दिउँसो सेनाका अधिकारीमार्फत शीतल निवासमा राजीनामा पत्र पठाएर केपी शर्मा ओली हेटौँडातर्फ उडेका थिए । असोज २ गते उनी भक्तपुरको गुन्डुस्थित एमाले नेता महेश बस्नेतको घर नजिकै सार्वजनिक भए । अब उनी त्यहीँबाट राजनीतिक यात्रा अघि बढाउने संकेत गरेका छन् ।

उनको पुख्र्यौली थलो तेह्रथुम, गृहजिल्ला झापा (दमक) र भक्तपुरको बालकोट—ती सबै स्थानका घर ध्वस्त बनाइएका छन् ।

विश्वकै सबैभन्दा छोटो आन्दोलनका सामु घुँडा टेक्दै ब्यारेकमा बसेका ओलीले भनेका छन्—“यस आन्दोलन पछाडिको षड्यन्त्रबारे अहिले धेरै भन्नु उचित छैन।” तर उनले चेतावनी पनि दिएका छन्—“समयमै नबुझिए देशको सार्वभौमसत्ता अब इतिहासमा मात्रै बाँकी रहनेछ।”


 

टिप्पणीहरू