जनआस्थाको समाचार शेयर गर्दै डा.सुजनले भने,‘दण्डित हुन तयार छु’

जनआस्थाको समाचार शेयर गर्दै डा.सुजनले भने,‘दण्डित हुन तयार छु’

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका तत्कालीन अध्यक्ष डा.सुजन कडेरियाले पार्टीप्रति आफ्नो दायित्व निर्वाह गर्न नसकेकोमा क्षमा मागेका छन् । जनआस्था डटकममा गत असोज ३१ गते प्रकाशित ‘भर्खरै केपी ओलीले यस्तो भन्नुभयो’ शीर्षकको समाचार शेयर गर्दै उनले संकटको समयमा पार्टीलाई जोगाउन नसकेकोमा दण्डित हुन तयार रहेको बताएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा बोल्दै जेनजी भनेरै अखिलको अध्यक्ष बनाएको सुजनले संगठनको जिम्मेवारी छोडेर भागेको भन्दै आपत्ति जनाएका थिए । उनले भनेका थिए,‘जेनजी जेनजी भन्दैमा हुन्छ ? सुजन कडेरियालाई जेनजी भनेरै अखिलको अध्यक्ष बनाएको हैन ? उसैले छाडेर भाग्यो त !’

त्यसपश्चात् सुजनले आफ्नो फेसबुकमा स्ट्याट्स लेखेर संगठन छोड्नुको प्रष्टीकरण दिएका छन् । युनिफर्म लगाएको विद्यार्थी मारिँदै गर्दा नैतिकताले संगठनमा बस्न नदिएको उनको भनाइ छ । लेखेका छन्,‘अनेरास्ववियुको अध्यक्ष पदमा मेरो लागि युनिफर्म लगाएका विद्यार्थी मारिँदै गर्दा नैतिकताले रहन दिएन,आफ्नै पार्टी सरकारमा भएको कारण नै मेरो राजीनामाको मुख्य कारण हो ।’

त्यसैगरी, उनले पार्टी नभई संगठन मात्र छोडेको स्पष्ट पारेका छन् । अगाडि थपेका छन्,‘पार्टी छोडेको थिइन, अध्यक्षमा मार्ग प्रशस्त गर्दा संकटको समयमा पार्टीलाई जोगाउन नसकेकोप्रति आफ्नो हिस्सामा परेको जिम्मेवारी बोध गर्दै दण्डित हुन तयार छु ।’

गत जेठमा सम्पन्न अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले हराउँदै सुजन निर्वाचित भएका थिए । भदौ २३ गतेको जेनजी प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सुजनले संगठनबाट राजीनामा दिए । राजीनामा दिएको दुई दिनपछि उनले अरुको दबाबमा सो निर्णय गर्न पुगेको दाबी गर्दै संगठनमा फर्किन खोजेपछि चर्को विवाद भएको थियो ।

टिप्पणीहरू