रास्वपामा पनि उस्तै किचलो, सचिवालय विस्तारप्रति तोसिमाको आक्रोश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले सचिवालय विस्तार गर्ने पार्टीको पछिल्लो निर्णयप्रति असहमति जनाएकी छन् ।
नेतृत्व पुनर्गठनको बहस चलिरहेको र विस्तारित बैठक डाकिसकेको अवस्थामा सचिवालय विस्तार गरिएको भन्दै उनले प्रष्ट असहमति जाहेर गरेकी हुन् । हिजो साँझ भर्चुअल रुपमा बसेको रास्वपा बैठकले हरि ढकाल, सोविता गौतम, गणेश पराजुली र शिशिर खनाललाई सचिवालय सदस्यमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसले पार्टी ‘रिफर्मेशन’ को माग बोक्न नसकेको उल्लेख गर्दै तोसिमाले कार्यकारी नेतृत्व परिवर्तनको मागसमेत गरेकी छन् ।
‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो, त्यसैको लागि विस्तारित बैठक तोकिएको थियो’, उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, ‘महाधिवेशन कैले गर्ने, के गर्ने भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठक समेत नकुरी सचिवालय विस्तार गरियो, हामीले खोजेको रिफर्मेसन यो होईन, कार्यकारी नेतृत्व परिवर्तन हो, पुर्नगठन हो ।’
नेतृत्वको कार्यशैली सच्याउनुपर्ने बेलामा सचिवालय विस्तारले राम्रो सन्देश नगरेको तोसिमाको भनाइ छ । ‘विस्तारित बैठकमा पार्टीको संगठनको वृहत सहभागिता र मताधिकारको सुनिश्चित गरियोस्, नत्र देशभरीबाट चितवनसम्म बोलाएर समय, पैसा र श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको कुनै औचित्य छैन’, उनले भनेकी छन् ।
अन्य पार्टीमा जस्तै जेन जी प्रदर्शनपछि रास्वपामा पनि नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । सहकारी ठगी प्रकरणमा जेल परेका सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने र उनकै नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने दुइथरी जबर्जस्त मत त्यहाँ देखिन्छ ।
यसैलाई लिएर चर्किएको अन्तरविरोधपछि नेत्री सुमना श्रेष्ठले पार्टी परित्याग गरिसकेकी छन् । केही नेताहरु पनि रास्वपा छाड्ने मनस्थिति रहेको स्रोतको दाबी छ ।
टिप्पणीहरू