‘नेपो बेबी’ क्याम्पेनविरुद्ध ओली आक्रामक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो बेबी’ क्याम्पेन स्वार्थी समूहले गलत नियतका साथ चलाएको टिप्पणी गरेका छन् । सम्पादकहरूसँगको भेटमा ओलीले उक्त अभियानप्रति ठाडो असहमति जनाएका छन् ।
‘आफ्नो बच्चाले भोक लाग्यो भने आहारा दिनु, राम्रो शिक्षा दिनु, रोग लागेमा उपचार गराउनु, कपडा किनिदिनु बाबुआमाको कर्तव्य हो । त्यसका लागि पनि नेपो बेबी भनिन्छ भने त्यो गलत नियत हो,’ उनले भने ।
अगाडि थपे, ‘बिचरी श्रृंखला खतिवडाले के गरिन् र? उनले मेहनत, ज्ञान र क्षमताले आफैंलाई प्रमाणित गरेकी थिइन्। तर उनलाई पनि नेपो बेबी भनियो, यो गलत नियतले चलाइएको क्याम्पेन हो। म हावाको भरमा कुद्दिनँ, विचार गरेर हिँड्छु।”
दलविरोधी रणनीति भन्दै सरकारमाथि आरोप
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले दल र नेताहरूमाथि निषेधात्मक रणनीति सरकार आफैंले बनाइरहेको आरोप लगाए। उनका अनुसार, ‘दलहरूसँग र नेताहरूसँग किन रिस उठेको हो, थाहा छैन। यदि जनता नै रिसाएका हुन् भने चुनावमा भोट नहाल्लान्। तर अहिलेको सरकार गतिलो ढंगले चलिरहेको छैन।’
‘मेरो सम्पत्ति छानबिन गर्न पत्रकार नै आउनुस्’
ओलीले आफ्नो सम्पत्ति छानबिन भइरहेको समाचारप्रति अनभिज्ञता प्रकट गर्दै त्यसमा पारदर्शिता देखाउन पत्रकारलाई नै निम्तो दिएका छन् । ‘मेरो सम्पत्ति छानबिन गर्न आयोग चाहिँदैन,’ उनले भने, ‘तपाईंहरू (सम्पादक) आफैं गर्नुस्, नेपाल पत्रकार महासंघले गर्न सक्छ, सम्पादक मण्डलले गर्न सक्छ। मेरो घर जलेको खरानीको कण–कण हिसाब गरेर छानबिन गर्नुस्।’
टिप्पणीहरू