केपी ओली भन्नुहुन्छ : म अँध्यारो मुख लगाउँदिन

केपी ओली भन्नुहुन्छ : म अँध्यारो मुख लगाउँदिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने भएपनि सोअनुसार नभएको दाबी गर्नुभएको छ ।

जेन—जी आन्दोलनपछि सरकार छोड्न बाध्य हुनुभएका उहाँले आज पहिलो पटक पत्रकार सम्मेलन गरी यस्तो धारणा राख्नुभएको हो । आफूले संसद विघटन नगरी संविधानको धारा ७६ मा उपधारा ८ थपेर नयाँ व्यवस्था गरी प्रतिनिधि सभाबाहिरको व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन विकल्प सुझाएको ओलीले दाबी गर्नुभयो । 

कामचलाउ प्रधानमन्त्रीको हैसियतमा आफैँले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई सिफारिस गरेको सम्बन्धमा उठेका प्रश्नको जवाफमा ओलीको यो प्रतिक्रिया आएको हो । संसद बाहिरको व्यक्ति प्रधानमन्त्री बन्नै नहुने पक्षमा आफू नरहेको पनि उहाँको भनाइ छ ।

कठिन परिस्थिति रहेको बेलामा संविधान संसोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउन कसैले पनि अवरोध नगर्ने ओलीको जिकिर थियो । संसद विघटन नै गर्नुपर्ने के कारण हो आफूले अहिलेसम्म बुझ्न नसकेको उहाँले बताउनुभयो ।

संविधान, संसद र लोकतान्त्रिक पद्धतीबाटै निकास निकाल्न सकिने अवस्था हुँदाहुँदै त्यसो नगरिएकोमा ओलीले असन्तुष्टि जनाउनुभयो । जेज—नीको नाममा यो सरकार संवैधानिक बाटो हुँदाहुदै असंवैधानिक रुपमा बनेको उहाँको आरोप छ । 

जेन–जी आन्दोलनपछिको अवस्थालाई दुई दिनको लीला भनेर टिप्पणी गर्नुभएका ओलीले यस्ता तामासा देखेर आफू किञ्चित नआत्तिएको जिकिर पनि गर्नुभएको छ ।

‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ फेरि । यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला,’ उहाँ भन्नुहुन्छ, ‘यस्ताको तमासाहरू देखेर, कसले नचाएको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लगाएर बस्छु ?’

टिप्पणीहरू