लुटिएका हतियार तथा प्रहरी पोशाक खोज्ने निर्णय

लुटिएका हतियार तथा प्रहरी पोशाक खोज्ने निर्णय

केन्द्रीय सुरक्षा समितिले फागुन २१ गते तोकिएको निर्वाचनका लागि एकीकृत कार्ययोजना बनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन सम्पन्न गरिने कार्ययोजना तयार गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको बताइएको छ ।

त्यसैगरी, जेन जी विध्वंशमा लुटिएका हातहतियार, पोशाकलगायतका सामान खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागले संयुक्त रुपमा काम गर्ने भनिएको छ । भौतिक संरचनामा भएको क्षतिको विवरण संकलनलाई तदारुकताका साथ सम्पन्न गर्ने, क्षतिग्रस्त निकायको भौतिक संरचना पुनःर्निर्माणका लागि कार्ययोजना पेश गर्ने निर्णय भएको छ । 

निजामती कर्मचारी र सुरक्षा निकायमा रहेको कार्यसम्पादन क्षमता, व्यवसायिक दक्षताको उच्चतम उपभोग गर्ने, परिवर्तित परिस्थिति अनुकूल स्व–नियन्त्रित, स्व–उत्प्रेरित र संयमित भई समस्याहरुको समाधानमुखी कार्ययोजनासहित क्रियाशील रहने, शान्ति सुव्यवस्था कायम गर्न अन्तर विभाग, अन्तर निकाय समन्वय सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ । 

बैठकमा गृहसचिव रामेश्वर दंगाल, रक्षासचिव सुमनराज अर्याल, सेनाका रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू