किन पुगे प्रधानमन्त्रीसामु नारायणकाजी र वर्षमान ?

किन पुगे प्रधानमन्त्रीसामु नारायणकाजी र वर्षमान ?

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले शुक्रबार भेट गरेका छन्। उनीहरू संयोजक प्रचण्डकै निर्देशनमा गएका हुन् वा व्यक्तिगत पहलमा  पुगेका हुन्  केही खुलाइएको छैन । 

भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,उनकी छोरी गंगा दाहाल र स्वयम् पूर्वमन्त्री वर्षमान पुनको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्ने सम्भावनावीच भएको यो भेटलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरेको छ । प्रधानमन्त्रीसँगको भेटमा सरकारलाई पूर्ण सहयोग गर्दै आगामी निर्वाचनमा जाने तयारीका विषयमा छलफल गरिएकोसम्म बताइएको छ।

उक्त भेटलाई लिएर प्रधानमन्त्री कार्की र वर्षमानबीचको पुरानो सम्बन्ध केलाउन  थालिएको छ । कार्की प्रधानन्यायाधीश हुँदा उच्च अदालतमा ७३ जना न्यायाधीश नियुक्त गरिएको र त्यसमा वर्षमान पुनको पनि भूमिका जोडिएको स्रोतको दावी छ ।

कार्की न्यायपरिषदको अध्यक्ष हुँदा सर्वोच्चका वरिष्ठ न्यायाधीश बैजनाथ उपाध्याय सदस्य थिए । उनी पूर्वप्रधानन्यायाधीश विश्वनाथ र केदारनाथ उपाध्यायका भाइ हुन् ।  उनी अवकाशको पूर्वसन्ध्यामा रहेकै बेला कार्कीले निकै चलाखीपूर्ण तरिकाले ७३ जना न्यायाधीशलाई उच्च अदालतमा लगेकी थिइन् ।

त्यसबेला बैजनाथपछि रोलक्रममा गोपाल पराजुली न्याय परिषदको सदस्य बन्दै थिए जो सुशीलाको सहयोगी हुने सम्भावनै थिएन । त्यसैले कार्कीले बैजनाथ अवकाश हुने अघिल्लो रात न्यायपरिषदको बैठक बोलाएर न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको प्रसङ्ग रोचक छ । यसो गर्दा न बैजनाथलाई भाग दिनुपर्थ्यो न त गोपालकै साथ चाहिन्थ्यो ।

स्रोतहरूका अनुसार,काँग्रेस र माओवादी गठबन्धन चलेको त्यो बेला पराजुली परिषदमा नआउँदै काँग्रेसबाट रमेश लेखक र माओवादीबाट वर्षमान पुनलाई साक्षी राखेर बालुवाटारमा ७३ जना न्यायाधीश नियुक्त गरियो । त्यतिबेला कानुनमन्त्री माओवादीका अजयशंकर नायक थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा दाङका पदम वैदिक पनि परिषदको सदस्य थिए । 

उक्त नियुक्तिको विरोधमा माओवादीबाट महान्यायाधिवक्ता रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सरकारी वकिलहरुको जुलुससहित प्रधानन्यायाधीश कार्कीसमक्ष विरोध जनाउन गएका थिए । एक जना नायव महान्यायाधिवक्ताले लगत्तै न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई बेवास्ता गरिएको भन्दै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध मुद्दा दायर पनि गरे ।

अदालतभित्रको गुटबन्दी र सो को परिणामस्वरूप न्यायपरिषद्का सदस्यहरूको असहमति त्यतिबेला सार्वजनिक भएको थियो । 

यता वर्षमान पुनको प्रसङ्गमा पनि पुरानो विवाद फेरि सतहमा आएको छ । ‘सुनकाण्ड’ को क्रममा पक्राउ परेकी नन्दकिशोर पुनकी बहिनी अमला रोक्का मगरसँग वर्षमानको निकट सम्बन्ध रहेको स्रोतको दावी छ । अमलाको कल डिटेलमा वर्षमानसँगको संवाद सबैभन्दा बढी रहेको र सोही कारण छानबिन समितिले कल डिटेल मेटाएको आरोप लागेको छ । सो समितिको सदस्य अहिले काठमाडौंमा सिडिओ छन् भने सुन काण्डमै पूर्व सभामुख कृष्णबहादुर महरालाई जेल पुर्याइएको छ ।

यता नारायणकाजी श्रेष्ठ भने सेना समायोजनदेखि माओवादी शिविर घोटालासम्मको छानबिन हुनुपर्ने पक्षमा देखिन्छन् । प्रधानमन्त्री कार्कीले पनि हाल राजनीतिक दलको दोस्रो तहका नेताहरूसँग भेट्दै “पार्टीभित्रको जिम्मा लिनुहोस्,म चुनाव गराउँछु,तपाईँहरू जित्नुहोेस्” भन्ने सन्देश दिएको विषय पनि यतिखेर निकै चर्चामा छ ।

केही मन्त्री २०४८ र २०६४ सालको जस्तो चुनावी वातावरण अहिले सिर्जना गर्ने तयारीमा रहेको बताइन्छ । त्यतिबेला काँग्रेस र एमालेका नेताहरूलाई प्रचारमा जान रोक्ने रणनीति कार्यान्वयन गरिएको थियो ।

टिप्पणीहरू