जेनजीको भूमिका र ऐतिहासिक सन्दर्भ
सबैलाई चकित पार्दै सत्ता पल्टाउन सफल जेनजी आन्दोलनले एउटा गहिरो प्रश्न उठाइदिएको छ– यो आन्दोलन देशले देखेका अनेकौं अन्य आन्दोलनको शृंखलाबद्ध तार्किक परिणति हो वा यो भिन्नै दिशाको सुरुवात ? मलाई लाग्छ– यो आन्दोलन मात्र सडकको आक्रोश होइन, बरु देशको दीर्घकालीन राजनीतिक संकटको प्रतिक्रिया हो ।
२००७ को क्रान्तिले राणा शासन उखेलेर जनतालाई शासनको दावेदार बनायो । २०३६ को विद्यार्थी आन्दोलनले अटल देखिने पञ्चायत प्रणालीलाई हल्लाइदिएर बहुदलीय व्यवस्थाको मार्ग प्रशस्त गर्यो । २०६२÷६३ को जनआन्दोलनले जनतालाई ‘राज्यको मालिक’ घोषित गर्यो र समावेशी लोकतन्त्रको विजारोपण गर्यो । यी ऐतिहासिक आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता मूल्यको स्थापना हो, जुन आज हामी सबै सबैभन्दा ठूलो सम्पत्ति बनेका छन् । तर, प्रश्न यहीँ उठ्छः यति ठूला संघर्ष र परिवर्तनपछि पनि नयाँ आन्दोलन किन आवश्यक पर्यो ?
१. सामाजिक–राजनीतिक आयामः प्रथमतः यो आन्दोलन पुरानो नेतृत्वप्रतिको अविश्वास र सुशासनको माग हो । दलहरूभित्रै लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेतृत्व, र युवाको आकांक्षालाई नबुझ्ने अहंकारले नै यस आन्दोलनको जग निर्माण गरेको कुरा घामझैँ छर्लङ्ग भै सकेको छ । । यो आन्दोलन विगतका अरू आन्दोलनहरूले समाधान गर्न नसकेको ‘राजनीतिक नेतृत्वको पट्यारलाग्दो निरन्तरता’ र ‘शक्तिको आडमा भ्रष्टाचार’विरुद्धको प्रतिक्रिया हो । भ्रष्टाचारको प्रकृति अत्यन्त बहुआयामिक छ । नागरिकलाई सरकारी सेवा प्राप्त गर्नका लागि रिश्वत दिनुपर्नेदेखि लिएर ठुल्ठूला सार्वजनिक खरिद, निर्माण आयोजना र नियुक्तिहरूमा हुने अनियमिततासम्म यो फैलिएको छ । सार्वजनिक खरिदमा तोकिएको मूल्यभन्दा धेरैमा कागजाती खरिद गरी कमिशन खाने प्रथा सामान्य बनिसकेको छ । यसले गर्दा देशले गुणस्तरीय विकास कार्यहरूबाट पनि वञ्चित हुनुपरेको छ । भ्रष्टाचारविरुद्धका कानुनहरू छन् तर तिनको कार्यान्वयनमा राजनीतिक हस्तक्षेपले गर्दा ठूला मामिलाहरूमाथि कारबाही हुन सकेको छैन । जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्धको आक्रोशलाई नयाँ ऊर्जा प्रदान गरेको छ ।
भ्रष्टाचारविरुद्धको लडाइँ सफल हुनका लागि न्यायिक प्रक्रियालाई स्वतन्त्र र शक्तिशाली बनाउनु अपरिहार्य छ । साथै सूचनाको अधिकारलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ । राजनीतिक इच्छाशक्ति र जनताको सक्रिय सहभागिता नै भ्रष्टाचारविरुद्धको लडाइँमा सफलताको मुख्य आधार हुन सक्छ । भ्रष्टाचारमुक्त समाजको निर्माण नै राष्ट्रिय विकासको पहिलो शर्त हो ।
२. प्रविधिको आयाम :जेनजी आन्दोलन २१औं शताब्दीको डिजिटल युगको उपज हो । ह्याकिंग + एक्टिभिज्मको संयुक्त रूपलाइ ह्याक्टिभिज्म भनिन्छ, जसमा गैर–कानुनी वा कानुनी रूपमा अस्पष्ट डिजिटल उपकरणहरू र प्रविधिको प्रयोग गरेर राजनीतिक वा सामाजिक परिवर्तन ल्याउने प्रयास गरिन्छ । जेनजीहरूले यस्तै किसिमको विकेन्द्रित ‘ह्याक्टिभिज्म’को मोडल अपनाए, जहाँ एक्स, टिकटक, र डिस्कर्डजस्ता प्लेटफर्महरूले सञ्चारमा स्नायुतन्त्रको काम गरे । अर्को कुरा आन्दोलनकर्ताहरूले सोशल मिडिया प्लेटफर्म (जस्तैःटिकटक, फेसबुकले कुन सामग्रीलाई कति समय देखाउने भन्ने कुरा निर्धारण गर्ने नियमहरूलाई विश्लेषण गर्दै, ती नियमहरूको फाइदा उठाउने रणनीति अपनाए । हुकःभिडियोको पहिलो ३ सेकेण्डमा नै आकर्षक सुरुवात गर्ने, लुपिङःदर्शकलाई बारम्बार हेर्न प्रेरित गर्ने र ट्रेण्डिङ साउण्डः लोकप्रिय संगीत र धुन प्रयोग गर्ने जस्ता विधिहरू अपनाएर आन्दोलनका सन्देशहरू ‘फर यु’ पेजमा पुर्याउँदै लाखौं दर्शकसम्म सामग्री सफल भए, जेञ्जी आन्दोलनकारीहरू । यसलाई एल्गोरिदमको ह्याक गर्ने रणनीति पनि भनिन्छ । त्यस्तै, भाइरल मेनिफेस्टो र गोप्य समन्वयले आन्दोलनलाई अप्रत्यासित गतिशीलता प्रदान ग¥यो । तर, यही आयामले यसलाई नियन्त्रण गर्न गाह्रो बनायो र त्यसैले आन्दोलनका क्रममा व्यक्तिगत स्वार्थले घुसपैठ गरेको आरोपलाई जन्म दियो । डिजिटल रणनीतिहरूले आन्दोलनलाई तीव्र गति र व्यापक प्रभाव दियो, तर साथै यसलाई अनियन्त्रित, अप्रत्याशित र विवादास्पद पनि बनायो । आधुनिक डिजिटल आन्दोलनहरूको यही जटिल चरित्र हो ।
३. संरचनात्मक आयाम:जेनजी आन्दोलनलाई केवल तात्कालिक राजनीतिक आक्रोशको प्रतिक्रिया भन्नु यसको गहन पृष्ठभूमिलाई अपूर्ण रूपमा बुझ्नु हो । वास्तवमा यो आन्दोलन नेपाली राज्यका संस्थागत संरचनाहरूले दीर्घकालदेखि नै युवापुस्ताप्रति गरेको बेवास्ताको प्रतिफल हो । देशको शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा विद्यमान गहिरो संकटले युवाहरूमा सञ्चित निराशा नै अन्ततः आक्रोशको रूपमा प्रस्फुटित भएको हो । शिक्षा क्षेत्रमा रहेको संकटले यसको स्पष्ट प्रमाण प्रस्तुत गर्छ । नेपालको शैक्षिक प्रणालीले आधुनिक युगको मागअनुरूप युवालाई तयार पार्न सकेको छैन । पुरानो रटन्त पद्धतिमा आधारित शिक्षा, रोजगारीसँग सम्बन्ध नराख्ने पाठ्यक्रम, र व्यावसायिक प्रशिक्षणको कमीले युवाहरूलाई शिक्षा पूरा गरेपछि पनि अनिश्चिततासँग सामना गर्न बाध्य बनाएको छ । यसको परिणामस्वरूप शिक्षित युवाहरू र रोजगारीबीचको खाडल निरन्तर बढ्दो छ । स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाले यस समस्यालाई थप जटिल बनाएको छ । सरकारी स्वास्थ्य संस्थाहरूमा अपर्याप्त सुविधा र उच्च गुणस्तरको उपचारको अभावले साधारण नागरिकलाई निजी अस्पतालतिर धकेल्ने गर्छ । तर निजी स्वास्थ्य सेवाहरूको अत्यधिक महँगो उपचारले ती सबैको पहुँचभित्र पनि रहन सकेको छैन । यसले गर्दा ग्रामीण क्षेत्रका युवाहरू आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छन् ।
रोजगारीको समस्या पनि निकै ठूलो संकटको रूपमा प्रकट भएको छ । संरचनात्मक बेरोजगारी, योग्यताअनुसार अवसरको अभाव, र जीवनयापन गर्न नसक्ने स्तरको न्यूनतम मजदुरीले युवाहरूलाई विदेशिन बाध्य पारेको छ तर विदेश पनि सबैका लागि सुनौलो अवसर नभएकोले धेरै युवा अर्धबेरोजगारीको जीवन बिताउन बाध्य छन् ।
राजनीतिक दलहरूले सत्ताको अंकगणितमा सीमित भएर जनताको आर्थिक र सामाजिक सशक्तीकरणको मूलभूत आवश्यकतालाई बेवास्ता गर्दै आएका थिए । सरकार बनाउने र टुङ्ग्याउने खेलमा मात्र केन्द्रित भएका नेताहरूले दीर्घकालीन विकासको रणनीति निर्माण गर्नुको सट्टा अल्पकालीन राजनीतिक लाभमा ध्यान दिए । यसले गर्दा नीतिगत निरन्तरताको अभाव भएको छ र विकास प्रक्रिया अवरुद्ध भएको छ । दशकौंदेखि समस्याहरू विना समाधान थुप्रिँदै गएपछि युवाहरूको विश्वास राजनीतिक प्रक्रियाबाट हटेको अवस्था छ । शिक्षा, स्वास्थ्य र रोजगारीका मौलिक समस्याहरू समाधान नभएसम्म युवाशक्ति कुनै पनि समय बिस्फोटक रूपमा प्रकट हुने सम्भावना रहन्छ । जेनजी आन्दोलन यही बिस्फोटको प्रतिध्वनि मात्र हो, यसलाई सामाजिक परिवर्तनको सशक्त माध्यमका रूपमा हेर्नु आवश्यक छ ।
ग्राम्सीको सिद्धान्त र जेनजीको भूमिका
इटालियन चिन्तक एन्टोनियो ग्राम्सीको सिद्धान्तले जेनजी आन्दोलनलाई राम्रोसँग बुझ्न मद्दत गर्छ । ग्राम्सीले ‘अर्गानिक बुद्धिजीवी’को अवधारणा प्रस्तुत गरेका थिए । यस्ता बुद्धिजीवीहरू समाजको विभिन्न वर्गहरूभित्रै उत्पन्न हुन्छन् र आफ्नो वर्गको अनुभव, आकांक्षा र समस्याहरूलाई अभिव्यक्त गर्छन् ।
जेनजी आन्दोलनकारीहरू यही ‘अर्गानिक बुद्धिजीवी’को रूपमा उभिए । तिनीहरूले आफ्नै भाषा, प्रविधि र माध्यमबाट समाजको व्यापक रूपमा रहेको असन्तुष्टिलाई अभिव्यक्त गरे । तिनीहरूले समाजमा पहिल्यैदेखि विद्यमान तर अभिव्यक्त नभएको आक्रोशलाई सशक्त अभिव्यक्तिका रूपमा प्रकट गरिदिएका मात्र हुन् । ग्राम्सीले ‘स्थितिको युद्ध’को पनि चर्चा गरेका छन् । जेनजी आन्दोलनले यही ‘स्थितिको युद्ध’मा सफलता हासिल गर्यो । तिनीहरूले पुरानो राजनीतिक व्यवस्थाको वैधतालाई नै प्रश्न गरी परिवर्तनको वातावरण निर्माण गरे ।
उत्प्रेरकको रूपमा जेनजी
अहिलेको आन्दोलनमा जेनजीहरूलाई एक उत्प्रेरकको रूपमा हेर्नु उपयुक्त हुन्छ । रासायनिक प्रक्रियामा उत्प्रेरकले रियाक्सनको गति बढाउँछ तर आफू भने परिवर्तन हुँदैन । जस्तै, जेनजी आन्दोलनले समाजमा पहिल्यै रहेको असंतुष्टिलाई संगठित रूप दिएर परिवर्तनको गति बढाउन मद्दत गर्यो । यो आन्दोलन कुनै एक व्यक्ति वा समूहको उपलब्धि होइन । यो त नेपाली समाजको सामूहिक चेतनाको प्रतिफल हो । ग्राम्सीले पनि सामाजिक परिवर्तन कुनै एक ‘महान व्यक्ति’ले ल्याउन नसक्ने, बरु यो जनसमुदायको सामूहिक प्रयासले मात्र सम्भव हुने बताएका छन् ।
भविष्यको मार्ग:पुनर्जन्म वा विघटन ?
अहिले देशमा देखापरेको वर्तमान संकटलाई सवै मिलेर अवसरमा परिणत गर्न आवश्यक छ । यसका लागि तीन प्रमुख पक्षहरूले भूमिका निभाउनुपर्छः
पहिलो:पुराना राजनीतिक दलहरूले आफ्नो अस्तित्वका लागि ग्रीक मिथकका फिनिक्स आगोमा जलेर भस्म हुने र त्यहीँबाट नयाँ जीवनको सुरुवात गर्ने एक पौराणिक पक्षी) जस्तो पुनर्जन्म अनिवार्य छ । नेतृत्वको पुस्तान्तरण, आन्तरिक लोकतन्त्रको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र जनविश्वासको पुनप्र्राप्ति नै तिनको प्राथमिकता हुनुपर्छ । दोश्रो पक्ष– जेनजी र युवा, शक्तिले आफ्नो आक्रोशलाई रचनात्मक राजनीतिक ऊर्जामा रूपान्तरण गर्नुपर्छ । सडकदेखि सदनसम्म, युवाहरूले संवाद र संस्थागत राजनीतिमा सहभागी हुनुपर्छ । तेश्रो पक्ष– अन्तरिम सरकार हो । सरकारको ‘अर्जुनदृष्टि’ समयमा चुनाव गराउनु मात्र होइन, तर दण्डहीनताको अन्त्य गरी सुशासनको आधार निर्माणमा पनि राख्नु जरूरी छ ।
निश्कर्ष:नेपाल आज फेरि इतिहासको क्रसरोडमा उभिएको छ । जेनजी आन्दोलनलाई एउटा नयाँ अध्यायको सुरुवातका रूपमा लिनुपर्छ । विगतका आन्दोलनहरूले हामीलाई मूल्यवान संवैधानिक सम्पत्ति दिए, तर त्यसलाई जीवन्त र प्रासंगिक बनाउने जिम्मेवारी वर्तमान पुस्ताको हातमा छ । सामाजिक परिवर्तन कोही एक व्यक्ति वा समूहले ल्याउन सक्दैन । जेनजी आन्दोलनले उत्प्रेरकको भूमिका निभाएर नेपाली समाजमा नयाँ चेतनाको सुरुवात गरिदिएको छ । अब यो चेतनालाई संस्थागत रूप दिने जिम्मेवारी सबै नेपालीमा छ । के दलहरूले आफूलाई सुधारेर फिनिक्सजस्तै पुनर्जीवित हुन सक्नेछन् ? के युवा शक्तिले आफ्नो आक्रोशलाई रचनात्मक परिवर्तनको ऊर्जामा बदल्न सक्नेछ ? यसको उत्तर हामी सबैको सामूहिक सोच, संयम र कार्यमा निर्भर गर्छ ।
टिप्पणीहरू