कुन बाटो जाने, विचार गर्नोस् है जनार्दन
माओवादीहरू २०६० साल अघितिर अरु दललाई संसदवादी भन्थे, अहिले त्यो दल पनि आक्रमणको तारोमा छ । खासगरी जेनजी आन्दोलनको उद्भव र विकासले जस्तो परिस्थिति निर्माण भएको छ– यसले सिर्जना गरेको (अ) सहजताले क कसलाई नराम्ररी प्रभावित पारेको होला ? सहजै अनुमान लगाउन सकिन्छ कि त्यही माओवादीले त्यो बेला भनेका दलहरू (जहाँ आज ऊ पनि पर्छ) लाई सकस छ । सकस अर्थात् थलिएरै बसेको अवस्था छ भन्दा हुन्छ । यो अवस्था कसरी र किन सिर्जना भयो ? यसबारे उनीहरूलाई सोच्ने समय अझै मिलेको छैन ।
जसले जता फर्केर तर्क गरे पनि आजको अवस्था उनै संसदवादी दलहरूले सिर्जना गरेका हुन् । न त बालेनले न रविले । छ महिलाअघि जनआस्थामै एउटा विचार सम्प्रेषण गरेको थिएँ– जंगलका राजाहरूको बारेमा । त्यतिबेलाको सरकारसँग तुलना गरेर लेखिएको लेखको सार थियो, जंगली राज धेरै दिन चल्दैन । चलेन मात्र होइन, टिकेन पनि ! कुनै पनि वस्तु वा फल रुखमा त्यतिबेलासम्म अडिन्छ जतिबेला त्यो पाक्छ । त्यसपछि त भुइँमा झर्ने नै हो । त्यसरी झर्नुअघि नै फलफूल टिपिन्छ । अर्थात् पाक्नुअघि नै त्यसको भण्डारण गरिन्छ । त्यसो नगरे फल रुखमै कुहिन्छ र आफैँ झर्छ ।
हो, त्यही भएको हो । अरु केही होइन । कतिपय फलफूललाई समयमा टिप्न सकिएन भने त्यसले दुर्गन्ध पनि फैलाउँछ । ठीक समयमा ठीक निर्णय लिन सकिएन भने फसाद पर्छ । बाहरूलाई त्यही भएको हो । त्यसरी दुर्गन्ध फैलिएको मात्र हो । अहिले बाहरूको कुशासनबिरुद्ध सडक तात्यो अनि बल्ल छोराहरूलाई पोल्यो । तैपनि निश्कर्ष आएको छैन । अलमल उस्तै छ । कुहिएको फल घरभित्र राखिरहने कि डाँडा कटाउने भन्नेमा अझै मतभेद छ ।
जेनजी आन्दोलनले ब्यवस्था गएको छैन । दलतन्त्र मात्र गएको हो । संविधान जीवित छ, च्यातिएको छैन ।
एक जनाले चिया गफमा सोधे, .. फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन ? मैले भनें चुनाव हुँदैन । यसकारण फागुन २१ मै चुनाव भइहाल्ला भन्ने लाग्दैन । पहिलो, उनै संसदवादी दलहरूसँग चुनावमा जाने सामथ्र्य छैन । साहस छैन, उत्साह छैन, उत्प्रेरणा छैन । मतलब उनीहरूसँग ठोस एजेण्डा छैन । अनि मैदानमा उत्रिने जाँगर । दोस्रो, पैसा छैन । भएको पैसा जलिसक्यो । घर छैन, गाडी छैन, शान शौकत छैन, डढिसक्यो । अनि ब्यापारी र तस्करलाई दिएको पैसा अब निस्कनेवाला छैन ।
यी त भए चुनाव नहुने कारण तर चुनाव हुने कारण पनि छन् । पहिलो, जेनजी आन्दोलनले ब्यवस्था गएको छैन । दलतन्त्र मात्र गएको हो । जंगलका राजाहरूको आशन मात्र डग्मगाएको हो । प्रशासन अझै छ । राशन अझै सकिएको छैन, त्यसले केही महिना धान्छ । दोस्रो, संविधान जीवित छ, च्यातिएको छैन । शासन, प्रशासन उही छ, सिंहदरवारको कुर्सी उही छ, फेरिएको त पात्र मात्र हो र, यो फागुन २१ को चुनावलाई बहिष्कार गर्ने दल अब रहँदैन, बढारिन्छ । अनि अब संसद पुनस्र्थापना पनि हुँदैन किनभने यो पुस ५ मा ओलीले विघटन गरेजस्तो पनि होइन । त्यसकारण चुनाव हुनुपर्छ, हुन्छ भन्ने मेरो मत छ ।
कतिपय मान्छेले यो परिवर्तनलाई स्वीकार गरिसकेको अवस्था छैन । जेनजी आन्दोलनले फरक परिस्थिति सिर्जना गर्दै लगेको देखिन्छ । खासगरी पार्टीभित्रको लामो बहसले चाँडै किनारा लिन सक्छ र रूपान्तरणको श्रृंखला शुरु हुनसक्छ । हुन तः ब्यवस्थामा दलहरू नै प्रभारी हुन्छन् तर अब ती भूमिकामा कुन कुन दलहरू रहलान् भन्ने सवाल हो । समय र परिवेशसँग चल्न नसक्ने दलहरू नरहन सक्छन् । जसरी आज प्रजा परिषद छैन । अथवा दलहरूले नेतृत्वमा फेरवदल ल्याए भने स्थिति सहज पनि होला । र, ती संसदवादी दलहरूले नै सत्ता सम्हाल्लान् । नत्र नयाँ घटनाक्रम विकास हुन सक्छ ।
राजा नै आउने अवस्था त छैन तर दलहरू चुनावमा गएनन् भने नयाँ परिस्थिति निर्माण हुन सक्छ । या त योभन्दा भयानक आन्दोलन हुन्छ या मुलुकै नरहन पनि सक्छ । पहिलो कुरा, तिनै संसदवादी भनिएका दलहरू मध्ये बरु एकहदसम्म माओवादी एजेण्डाका आधारमा अगाडि बढेको छ । कांग्रेस र एमाले अलमलमा छन् । अझ भनौँ कांग्रेसमा अलिअलि चुनावमा जाने साहस छ तर एमालेले त्यो नैतिक साहस गुमाइसकेको छ । त्यो दल एकप्रकारको कोमामा पुगेको छ । आइसियूमा छ । उनीहरूमा न ग्लानी छ, न बोध छ न त शरम छ । जनताप्रति न विश्वास छ न दुःख । बरु बिरासत गुम्ने चिन्ता छ । अनि फेरि शासनमा फर्किने लालसा ।
जनता जनार्दन, बिचार गर्नोस् त । यसअघि भएका नेपालका ठुल्ठूला परिवर्तनपछि कसले शासन गरेको छ ? २००७ सालमा राणातन्त्र गएपछि को आयो ? २०४६ सालमा पञ्चायत ढल्यो । त्यसपछि राजावादीहरू कहाँ पुगे ? अनि त्यसपछिको शासन प्रशासनमा कांग्रेस–कम्युनिष्टहरूको हालिमुहाली कसरी चल्यो । २०६३ सालमा राजा गए । त्यसपछि राजाको हैसियत के छ नेपालमा ? हरेक कालखण्डले एउटा परिवर्तनको उद्घोष गर्छ र त्यसले नयाँ स्वरूप धारण गर्छ । अनि नयाँ समाज र नेतृत्व जन्माउँछ । अहिलेको अवस्था ठ्याक्कै त्यही हो । तर, समाज एकप्रकारले मनोरोगबाट ग्रसित हुन्छ । पुरानै सोचले चलेको हुन्छ । जे आँखा अगाडि देखिन्छ, भोगिन्छ त्यही सत्य हो भन्ने ठान्छ । बिचार, चेतनाको प्रवाह त्यसरी मात्र हुँदैन । त्यसको एउटा गति हुन्छ । आजको जेनजीले त्यसरी मात्र सोच्दैन, उसले संसार देखेको छ, देखिरहेको छ । ऊ तत्काल परिवर्तन चाहन्छ र अग्रगति । त्यसकारण बिचार गनोस्, जनार्दन । संसदवाद कि नयाँ प्रणाली ? फागुन २१ आउन धेरै छैन ।
टिप्पणीहरू