गृहमन्त्रीले चुनाव भाँड्न लागेको एमालेको दावी

गृहमन्त्रीले चुनाव भाँड्न लागेको एमालेको दावी

नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैली आगामी निर्वाचनका लागि मुख्य चुनौती रहेको बताएका छन् । 

गृहमन्त्री अर्याल अझै कुण्ठा र आक्रोशको भावनाबाट बाहिर निस्कन नसकेको भन्दै उनले मुलुकको शान्ति सुरक्षा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न यसलाई बाधक ठहर्याए । जेन जी विध्वँशका क्रममा लुटिएका प्रहरीका हतियार र भागेका कैदीबन्दीबारे कुनै चासो नराख्ने तर पुराना पार्टीका नेताप्रति प्रतिशोधपूर्ण अभिव्यक्ति दिने कुराले चुनावको वातावरण नबन्ने बर्तौलाको भनाइ छ । 

‘यिनी अहिलेसम्म पनि ईर्ष्या,डाह, कुण्ठा र आक्रोशभन्दा बाहिर निस्कनै सकिरहेका छैनन्’, बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनी लुटिएका हतियारहरू खोज्दैनन्,  प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्,भागेका कैदीबन्दीहरु कहाँ छन् चासो नै राख्दैनन् ।’

‘उनी लुटिएका हतियारहरू खोज्दैनन्,  प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्,भागेका कैदीबन्दीहरु कहाँ छन् चासो नै राख्दैनन् ।’

उनले जेन जी विध्वंश मच्चाउने मुख्य पात्र नै गृहमन्त्री अर्याल भएको ठोकुवा पनि गरेका छन् । भन्छन्, 'यदि सक्कली छानविन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरी बिध्वंश मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कनेछ ।'

हरेक दिनजसो हत्या र हिंसाको घटना भैरहँदा पनि गृहमन्त्रीमा कुनै चिन्ता नरहेको भन्दै बर्तौलाले शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा,अराजकता र अस्थिरताको प्रवर्द्धनका लागि पूर्वप्रधानमन्त्री,पूर्वमन्त्री,शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई भड्काउन, उत्तेजित बनाउन झूटा अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् । आफ्नो सत्ता लम्ब्याउनका लागि गृहमन्त्री चुनाव टार्ने योजनामा रहेको र त्यसैअनुसार भड्काउपूर्ण अभिव्यक्ति दिइरहेको उनको दाबी छ ।

टिप्पणीहरू