काँग्रेस भ्रातृ संगठनको मुख्य चियापान सानेपामा, अन्य जिल्लामा

काँग्रेस भ्रातृ संगठनको मुख्य चियापान सानेपामा, अन्य जिल्लामा

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले आगामी सोमबार आफ्नो ७३औं स्थापना दिवस मनाउने भएको छ। काठमाडौं उपत्यकाबाहेकका सबै जिल्लाले जिल्लामै शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कार्यसमितिहरू भने नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने केन्द्रीय समारोहमा सहभागी हुने अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । तरुण दलले यो वर्ष केन्द्र र जिल्ला दुबै तहमा फरक शैलीमा स्थापना दिवस मनाउन लागेको हो । 

सानेपाको कार्यक्रममा केन्द्रीय अध्यक्षले स्वागत सम्बोधन गर्ने र प्रमुख अतिथि तथा कार्यवाहक सभापतिले सम्बोधन तथा धन्यवाद ज्ञापनपछि सहभागीहरूलाई चियापानमा सरिक गराइने कार्यक्रम छ । ‘कार्यक्रममा फूलमाला र लामो भाषणको औपचारिकता रहने छैन, छोटकरीमा शुभकामना आदान–प्रदान र एकता सन्देशमा कार्यक्रम केन्द्रित रहनेछ,’ गुरुङले भने । 

केन्द्रीय कार्यालयको समारोहमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी, केन्द्रीय सदस्यहरू, संघीय संसदका पूर्व सांसद तथा राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख–उप–प्रमुख, निर्वाचित जनप्रतिनिधि र तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहनेछ।

तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार उपत्यकाका तीनै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला, महानगर, क्षेत्रीय, नगरपालिका, गाउँपालिका र वडा तहका कार्यसमितिहरूलाई पनि कार्यक्रममा सहभागी गराइनेछ ।

उनका अनुसार अन्य राजनीतिक दलका भ्रातृ संगठनका प्रमुखहरूलाई पनि केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रममा निमन्त्रणा गरिएको छ। सोही ढाँचामा जिल्लास्तरका कार्यक्रममा पनि स्थानीय भ्रातृ संगठनका प्रतिनिधिलाई निमन्त्रणा गर्न निर्देशन दिइएको छ।

टिप्पणीहरू