प्रधानमन्त्रीलाई दुई दिन मात्रै १० बजे सुत्न छुट

गृहमन्त्री भन्छन् - एक नम्बरमा म मर्छु

प्रधानमन्त्रीलाई दुई दिन मात्रै १० बजे सुत्न छुट

प्रधानमन्त्री सुशीला कार्कीले पछिल्लो डेढ महिनामा मुश्किलले दुई दिन मात्रै राति १० बजे सुत्न पाएको दुःखेसो पोख्नुभएको छ । बेलैमा सुत्न,उठ्न र खान नपाउँदा बृद्ध शरीरलाई परेको उहाँको गुनासो छ । हिजो अपरान्ह साढे ४ बजेदेखि साढे ४ घण्टासम्म चलेको राजनीतिक दलका नेताहरुसँगको छलफलमा उहाँले प्रधानमन्त्री बनेपछिको अनुभव सुनाउनुभएको हो ।

उहाँकै अनुसार,केही दिनअघि आएर केही जेन जीले आफूमाथि औंला ठड्याउँदै थर्काएका थिए । ‘तपाइँविरुद्ध पनि अख्तियारमा मुद्दा रहेछ,यस्तो हुँदाहुँदै कसरी प्रधानमन्त्री बन्नुभयो ?’ उनीहरुको प्रश्न थियो । दलका नेताहरूलाई प्रधानमन्त्रीले हिजो भन्नुभयो,‘त्यस्तो कुरो सुन्दा झोंक त चल्दैन ?  तर झोंक चलेर मात्र के गर्नु ? हाम्रै भाइ छोरा हुन्,केटाकेटी छन्,तिनका पनि कुरा सुनिदिनै पर्यो । उनीहरुकै आन्दोलन र जोडबलमा हामी यहाँसम्म आइपुगेका हौं,त्यसैले सहेर भएपनि उनीहरुको भाषा बोलिदिने गरेका छौं ।’

हिजोको बैठकमा सहभागी एक वरिष्ठ नेताका अनुसार प्रधानमन्त्री र मन्त्रीहरुको अनुहारसँगै बोली पनि शिथिल र पराजित देखिन्थ्यो । जुँगाको रेखी नबसेका केटा केटीले मध्यरातमासमेत हैरान पारेको सन्दर्भमा प्रधानमन्त्रीको भनाइ थियो, ‘यो डेढ महिनामा म राति १० बजे सुतेको जम्मा दुई दिन मात्रै हो । अलि अगाडिसम्म मध्यरात पनि आउँदै अनेकथरी कुरा गरेर दिक्क लगाएका थिए ।’

यसबीच घाइतेहरुको उपचार गराउने,मृतकको शव परिवारलाई बुझाउने,कतिपय शव उनीहरुको जन्मघरसम्म पुर्याउने काममा लागिएकाले राजनीतिक दलहरुसँग वार्ता गर्न समय नमिलेको उहाँको भनाई थियो । प्रधानमन्त्रीले भन्नुभयो, ‘यसमा राज्यको खर्च धेरै भइसक्यो ।’

उहाँकै अनुसार,केही दिनअघि आएर केही जेन जीले आफूमाथि औंला ठड्याउँदै थर्काएका थिए । ‘तपाइँविरुद्ध पनि अख्तियारमा मुद्दा रहेछ,यस्तो हुँदाहुँदै कसरी प्रधानमन्त्री बन्नुभयो ?’ उनीहरुको प्रश्न थियो ।

असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाउनुभएको सर्वदलीय बैठकपछि हिजो राजनीतिक दलका नेताहरुलाई सुशीला कार्कीले बालुवाटारमा आमन्त्रण गर्नुभएको हो । दुबै छलफलमा सहभागी एकजना नेता भन्छन्, ‘शीतल निवासको छलफलमा कार्की नेतृत्वको क्याबिनेटका सदस्यहरु सबै उपस्थित थिए । हिजो चाहिँ तीन जना मात्रै देखिए ।’

आफ्नो बोल्ने पालोमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको धारणा थियो- ‘चुनाव कसले गराउने ? तपाईँले चुनाव गराउने हो भने दलहरुलाई सिंहदरबारमा छलफल गराउने दायित्व पनि तपाईंकै हो । यसअघि जेनजीको डरले नबोलाउनुभएको हो ?’ पाण्डेको थप जिज्ञासा थियो, ‘चुनावमा कसले भाग लिने ? राजनीतिक दलहरुले कि जेन जीले मात्रै ? राजनीतिक दलले भाग नलिने हो भने त्यस्तो चुनावको हैसियत के होला ? जेन जीको डरले आफू बैठक नबोलाउने, अनि राष्ट्रपतिलाई गुहारिरहन मिल्छ ?’

यसअघि शीतल निवासको बैठकमा पनि उपाध्यक्ष पाण्डेलगायतले राष्ट्रपतिले बैठक बोलाउनुभएकोमा धन्यवाद दिँदै तर यो विषय शीतल निवासको चासोको विषय नै नभएको धारणा राखेका थिए । सोही सन्दर्भमा शीतल निवास बैठकमा प्रधानमन्त्रीको जवाफ थियो, ‘राष्ट्रपतिको आडमा आजको बैठक बोलाएकै हो । सिंहदरबारमा बैठक राख्न नसकेकै हो । विषय तपाइँहरुले बुझ्नुभएको छ । चाँडै नै सिंहदरबार वा मेरो कार्यालयमा बोलाउँछु ।’ 

यसअघि असोज ३० गते पनि निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बोलाएको थियो । निर्वाचन आयोगले चुनाव गराउने आश्वासन दिए पनि दलहरु ढुक्क हुन नसकिने भन्दै फर्किएका थिए । उनीहरुका अनुसार झण्डै आठ हजार कैदीबन्दी जेलबाट निस्केर समाजमा मिसिएका छन् । भदौ २४ गतेका दिन ९८ हजार गोली हराएको छ । त्यसैगरी १२ सयबढी अत्याधुनिक हतियार खोसिएको छ । साथै प्रहरीको पोशाक पनि चोरिएको छ । 

आयोगले बोलाएको बैठकमा दलका प्रतिनिधिहरुले भनेका थिए, ‘चुनावको दिन बुथमा त्यही पोशाक लगाएर,पुलिसको हतियार बोकेर कोही आयो भने त्यसलाई सुरक्षाकर्मी होइन भनेर कसरी ठान्ने ? यो हिसाबले चुनाव हुन सक्छ ?’ सरकार,राजनीतिक दल,निर्वाचन आयोग र सुरक्षा अंगका प्रमुखहरु बसेर गम्भीर छलफल नगरेसम्म चुुनावी माहौल नबन्ने ठोकुवा गरेर उनीहरु बहादुर भवनबाट बाहिरिएका थिए ।

‘हामी पनि खतरामा छौं,अहिलेको अवस्थामा मर्नु परे पहिलो नम्बरमा मै परुँला । दोस्रो नम्बरमा प्रधानमन्त्री पर्नुहोला । अवस्था कहाँ सजिलो छ र ! पुराना मन्त्रीहरुबारे बोले दल र तिनका नेता रिसाउने,नबोले जेन जीहरु रिसाउने । यस्तो खालको अप्ठेरोमा छौं हामी ।’ 

हालसम्म चुनावी वातावरण नबनेको प्रसंग हिजोको छलफलमा पनि उठेको बताइन्छ । केही सहभागीले भने-सत्ताधारीको योजनाबमोजिम चल्ने आयोगको भूमिका पछिल्लो समय झन् शंकाको घेरामा परेको छ । निर्वाचन आयोगप्रति दलहरुको त्यति धेरै विश्वास छैन ।’

सबैको कुरा सुनेपछि प्रधानमन्त्रीको जवाफ थियो, ‘बडो संकटको घडीमा मैले यो जिम्मेवारी लिएको छु । अप्ठेरो परिस्थिति छ । एक पटक जेन जीहरुलाई बोलाउँछु,तपाइँहरु पनि आइदिनुस् । उनीहरुसँग तपाइँहरुले पनि कुराकानी गरिदिनुपर्यो । हामीले सम्झाएको सम्झाएकै छौं,तर तिनले कुरा सुनिरहेका छैनन् ।’ 

राजनीतिक दल र तिनका नेताहरुले साथ नदिएको अवस्थामा आफूहरुले केही गर्न नसक्ने उहाँको निचोड थियो । प्रधानमन्त्रीले भन्नु पनि भयो, ‘मूलतः चुनाव गराउने नै राजनीतिक दलहरुका लागि हो ।’

दलका प्रतिनिधिहरुले जेन जी प्रतिनिधि मिराज ढुंगानाको हालैको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याएका थिए । प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री,सेरेमोनियल राष्ट्रपति,विदेशमा बसेका नेपालीलाई मताधिकार र अधिकार सम्पन्न भ्रष्टाचार छानबिन आयोग नभएसम्म जेन जीले चुनावमा भाग नलिने उनको दावीबारे प्रधानमन्त्रीको निश्कर्ष थियो,‘दलहरुले चुनावमा भाग नलिए यिनीहरुको माग झन बढ्दै जान्छ ।’

अर्कोतिर जेन जीका नाममा जलविद्युत कम्पनीहरुमा १० प्रतिशत सेयर लिने,विभिन्न संवैधानिक तथा सरकारी निकायका प्रमुखको कार्यकक्षमा पुगेर धम्काउने र राजीनामा माग्ने काम भइरहेको सन्दर्भ पनि दलका नेताहरुले उठाएका छन् । ‘मधेशतिर पनि जेन जीको नाममा लुटपाट हुन थालेछ । अब कसरी चुनाव हुन्छ ?’ प्रधानमन्त्रीलाई सोधिएको थियो ।

छलफलमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालको भनाईप्रति राजनीतिक दलका नेताहरुले रोष प्रकट गरे । यसबाट चुनाव नहुने वातावरणलाई मलजल गरेको उनीहरुको निश्कर्ष थियो । "भदौ २४ गते विध्वंशकारीले लुटेको प्रहरीको हतियार चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता दलहरुबाट खोजिनुको आशय के हो ?"-तिनले प्रश्न उठाए  । 

२४ गतेको विध्वंशमा सहभागीहरुलाई फौजदारी कारबाही नहुने भनेको,पूर्व ऊर्जामन्त्री विदेश भागेको र अन्य पनि भाग्दै छन् भन्ने उनको अभिव्यक्ति भड्कावपूर्ण भएको दलहरुको ठहर  थियो । एक जनाले नेताले मन्त्रीलाई सुझाव दिँदै भने, ‘कानुन पढेको मान्छेले कम्तीमा बोली नियन्त्रण गर्नुपर्यो । तपाइँ कतै भड्काउँदै,उक्साउँदै हुनुहुन्छ ?’ 

उक्त प्रश्नपछि गृहमन्त्रीको वाध्यात्मक जवाफ भने यस्तो थियो, ‘हामी पनि खतरामा छौं,अहिलेको अवस्थामा मर्नु परे पहिलो नम्बरमा मै परुँला । दोस्रो नम्बरमा प्रधानमन्त्री पर्नुहोला । अवस्था कहाँ सजिलो छ र ! पुराना मन्त्रीहरुबारे बोले दल र तिनका नेता रिसाउने,नबोले जेन जीहरु रिसाउने । यस्तो खालको अप्ठेरोमा छौं हामी ।’ 

अरुले झैँ एमाले महासचिव शंकर पोखरेलले पनि नेताहरुलाई स्थान हद तोक्ने,सुरक्षाकर्मी खोस्ने, दलका नेताहरुविरुद्ध अनर्गल प्रचार गर्ने कामले चुनावी माहौल बनेको छ कि,बिग्रेको ? भनेर सोधेका थिए ।

प्रधानमन्त्रीलाई चुनावी वातावरणका लागि पहल गर्न आग्रह गर्दै इतिहासकै कमजोर सरकार रहेको हेक्का राख्न सुझाइएको थियो- ‘राष्ट्रपतिको रोहबर र राजनीतिक दलहरुसमेतको सहमतिमा यो सरकार बनेको नमान्ने हो भने जेन जीको शत्रु  राजनीतिक दलहरु हुन् भन्ने मान्यतालाई सरकारले चिर्न सक्दैन ।’

टिप्पणीहरू