‘आओ,आओ’ भन्दै काँग्रेस नेता द्वारा ओलीको घरमा आगो

‘आओ,आओ’ भन्दै काँग्रेस नेता द्वारा ओलीको घरमा आगो

भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशमा भएका घुसपैठ क्रमशः सार्वजनिक हुँदै छ ।  वास्तविक जेन जीहरुले आयोजना गरेको विरोध प्रदर्शनलाई हिंसात्मक बनाउने र भोलिपल्ट मुलुकभर आगजनी र लुटपाट मच्चाउने घटनामा राजनीतिक दलका नेता तथा कार्यकर्ता,स्वतन्त्र र दलीय हैसियतमा यसअघि विजयी जनप्रतिनिधिहरुको हात रहेको पुष्टि भएको छ ।

सोही क्रममा भदौ २४ गते अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवास जलाउन काँग्रेसका क्षेत्रीय उपसभापति पुगेको भिडियो र फोटो सार्वजनिक भएको छ । चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शनमा दुर्गा प्रसाईंले अपनाएको शैलीमा केपी ओलीको बालकोट निवास ध्वस्त पारिएको थियोे । 

काँग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा दुर्गा प्रसाईं शैलीमा मान्छेलाई उरालेर ‘आओ,आओ’ भन्दै बालकोट पुगेका थिए । ओलीको घर पुगेपछि उनले दायाँ हातका दुई औंला मुखमा घुसार्दै सिट्ठी फुकेर  ‘आओ, आओ’ भनेका थिए ।

उनै लामा नयाँ बानेश्वरस्थित संसद भवन जलाउने कार्यमा समेत राष्ट्रिय झण्डा ओढेर पुगेका रहेछन् । जल्दै गरेको संसद भवन बाहिर उनले राष्ट्रिय झण्डा बोकेर फोटो सेसन गरेका थिए ।

यता, काँग्रेस पूर्व महामन्त्री सशांक कोइराला र महामन्त्री गगन थापाको घर तोडफोड र आगजनीमा एमाले नेता तथा कार्यकर्ता अग्रपंक्तिमा रहेको पाइएको छ । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवासमा आगो झोस्ने व्यक्तिलाई प्रहरील्व पक्राउ गरेको छ । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा समूहमा रहेका युवा संघ सदस्य सोनम थेबे हुन् ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भएका उनी गुण्डा नाइके चक्रे मिलन समूहसँग आवद्ध रहेका र ‘पटके गुण्डा’को रूपमा परिचित छन् । ठगीका विभिन्न आरोप प्रहरीमा दर्ता भए पनि ताप्लेजुङका एमाले नेताहरूको दबाबमा अनुसन्धान अघि बढ्न नसकेको र पछिल्लो पटक उनी २०८२ भदौ ५ गते पनि पक्राउ परेका थिए ।

पछिल्लो समय एमालेका आन्तरिक गतिविधि र उच्चस्तरीय बैठकहरूमा समेत थेबे सहभागी हुने गर्दथे । भण्डारीको निवासमा आगजनीपछि केही समय भूमिगत भएका उनी असोज अन्तिम साता भएको एमाले केन्द्रीय समिति बैठकस्थलमा सुरक्षा दस्तासहित उपस्थित भएका थिए । ललितपुरको झम्सिखेलस्थित रामबाग पार्टी प्यालेसमा थेबे झण्डै एक दर्जनको दस्तासहित सक्रिय रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रामबाग महलको माथिल्लो तलाबाट सुरक्षा दस्तासहित एमाले केन्द्रीय समिति बैठकमा सहभागी थेबेले विद्या भण्डारीको घरमा आगो झोसेको दृश्य सिसिटिभी फुटेजको आधारमा देखिएको दाबी प्रहरीको छ ।

टिप्पणीहरू