मुलुक ०३३ सालभन्दा बढी जोखिमपूर्ण अवस्थामा

मुलुक ०३३ सालभन्दा बढी जोखिमपूर्ण अवस्थामा

नेपाली काँग्रेसका नेता तथा साहित्यकार बलदेव शर्मा मजगैयाँले अहिले मुलुक २०३३ सालको तुलनामा अझ बढी जोखिमपूर्ण अवस्थामा पुगेको बताएका छन्।

घोराहीमा डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वमन्त्री मजगैयाँले मुलुकको अस्तित्वमाथि नै संकट देखिएको र नेतृत्वसँग त्यसलाई सम्हाल्ने चेतना नदेखिएको टिप्पणी गरे।

“२०३३ सालमा बिपी कोइराला देशमा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केका थिए, किनभने देशको एकता र अस्तित्व संकटमा थियो,” उनले भने, “तर अहिलेको अवस्था त्योभन्दा पनि झन् जटिल र खतरनाक छ, र नेतृत्व दिशाविहीन बनेको छ।”

सन् १९७५ मा सिक्किम भारतमा विलय भएपछि भारतमा निर्वासन जीवन बिताइरहेका कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए। त्यसबेला मजगैयाँ पनि बिपीसँगै भारतमै रहेका थिए।

मजगैयाँले हालैको जेनजी आन्दोलनलाई २०४२ सालको सत्याग्रहसँग तुलना गर्दै भने, “कुनै पनि आन्दोलनमा घुसपैठ सम्भव हुन्छ। तर नेपाली कांग्रेसले सत्याग्रहका क्रममा जहाँसुकै हिंसा भए आन्दोलन स्थगित गर्ने निर्णय गरेको थियो।” उनले स्मरण गरे, “त्यसपछि रामराजा प्रसाद सिंहले बम काण्ड गरे र कांग्रेसमाथि दोषारोपण भयो, तर तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सत्य तथ्य सार्वजनिक गरेपछि मात्र हामी बच्यौं।”

वरिष्ठ राजनीतिज्ञ मजगैयाँले भदौ २३ र २४ गतेका घटनापछि कोही पनि नैतिक जिम्मेवारी नलिएकोमा गम्भीर चिन्ता व्यक्त गरे। “अहिले देशमा नैतिकताको खडेरी छ,” उनले भने, “पहिले न्याय हराए गोर्खा जानु भनिन्थ्यो, तर नैतिकता हराए कहाँ जाने भन्ने उखान छैन।”

उनले उदाहरण दिँदै थपे, “२०३० सालमा सिंहदरबारमा आगलागी हुँदा प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए। २०४४ सालमा दशरथ रंगशाला दुर्घटनापछि शिक्षा मन्त्री केशरबहादुर विष्टले जिम्मेवारी लिए। तर अहिले यस्ता ठूलो घटना हुँदा पनि कोही जिम्मेवारी लिँदैन।”

उनका अनुसार अहिलेका अधिकांश राजनीतिक दलहरू आन्तरिक सङ्घर्षमा फसेका छन् र फुट्ने सम्भावना बढ्दो छ। “नेताहरूले जिम्मेवारी नलिने र राष्ट्रिय एकताको पहल नगर्ने हो भने फेरि अर्को द्वन्द्व वा विद्रोह हुन सक्छ,” उनले चेतावनी दिए।

कार्यक्रममा मजगैयाँले सबै दलका नेता, राष्ट्रभक्त र जेनजी आन्दोलनका सहभागीहरूलाई आत्मसमीक्षा गर्न र राष्ट्रिय एकताका लागि गम्भीर बन्न आह्वान गरे। “देश जोगाउन अब राष्ट्रिय एकताबाहेक विकल्प छैन,” उनले जोड दिए।

कार्यक्रममा तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे, सर्वोदय पुस्तकालय दाङका अध्यक्ष सुशील गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार दुर्गालाल केसी लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए।

गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिपी कोइरालाको अदालतमा दिएको बयानमा आधारित वृत्तचित्र ‘बीपी बिगुल’ पनि प्रदर्शन गरिएको थियो।

टिप्पणीहरू