दुर्गा प्रसाईंको नयाँ फोटोसँगै रामराज्य घोषणा

दुर्गा प्रसाईंको नयाँ फोटोसँगै रामराज्य घोषणा

आफूलाई सामाजिक अभियन्ताका साथै जेन-जी अगुवा दावी गर्ने डा. निकोलस भुसालले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर कात्तिक १६ गते विद्रोह गर्ने भएका छन् । 

प्रसाईंसँगको एक फोटो सार्वजनिक गर्दै उनले हरेक नेपालीलाई करोडपति र देशलाई रामराज्य बनाउने योजना पूरा गर्न निर्णायक विद्रोह गर्न लागेको बताएका हुन् । आज अपराह्न ३ बजे एलो प्यागोडा होटलमा पत्रकार सम्मेलनगरी यसबारे सम्पूर्ण जानकारी गराउने उनको तयारी छ । 

सामाजिक सञ्जाल फेसबुकमा प्रसाईंसँगको भेटबारे उल्लेख गर्दै लेखेका छन्, 'सम्पूर्ण जेन जीका माग पूरा गर्ने र हरेक नेपालीलाई करोडपति बनाउने जिम्मेवारी र देशलाई रामराज्य हामी बनाउने छौ ।'

भुसाल र प्रसाईंमाथि जेन जी आन्दोलनको नाममा भदौ २४ गते विध्वंस मच्याउन पर्दा पछाडिबाट भूमिका खेलेको आरोप लाग्दै आएको छ । विध्वसंलगत्तै नयाँ सरकार गठनको तयारी चलिरहँदा नेपाली सेनाले जेन जी प्रदर्शनको स्टेक होल्डर भन्दै प्रसाईंलाई जंगीअड्डा बोलाएर फोटो खिचाएको थियो । तर, शुसीला कार्की प्रधानमन्त्री बनेपछि हिस्स परेका उनी त्यसयता वर्तमान सरकारप्रति आक्रोश पोख्दै आएका छन् । 

कार्की नेतृत्वको सरकार विदेशीको इसारामा बनेको आरोप प्रसाईंले सार्वजनिक रुपमै लगाइरहेका छन् । सरकार ढाल्न निर्णायक आन्दोलन गर्ने उनको चेतावनी छ । 

यता, काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहले विदेशी शक्तिको आडमा जेन जी आन्दोलन हाइज्याक गरेको असन्तुष्ट भुसालले राजावादीहरूलाई समेटेर छुट्टै समूह बनाएका छन् । प्रसाईंजस्तै भुसाल पनि अन्तरिम सरकारमा आफू वा आफू निकटका व्यक्तिलाई मन्त्री बनाउन चाहन्थे । तर, प्रधानमन्त्री कार्की र बालेनले वास्ता नगरेपछि तिल्मिलाएका यिनी सरकार नै विदेशीले बनाइदिएको भनिरहेका छन् ।

टिप्पणीहरू