राष्ट्रको सम्पत्ति खरानी बनाउनेहरु कसरी राष्ट्रको गहना ?

राष्ट्रको सम्पत्ति खरानी बनाउनेहरु कसरी राष्ट्रको गहना ?

कलाकारलाई राष्ट्रको गहना र समाजको ऐना हुन् । कलाकारहरुले के गर्छन्, कहाँ जान्छन्,सामाजिक सञ्जालमा के लेख्छन् ? यसमा निकै नै जनचासो राखिन्छ । कलाकार समाज परिवर्तनको वाहक भएकाले उनीहरुले राम्रा कुरा सिकाउनुपर्छ । विडम्बना,तिनै कलाकार देश खरानी बनाउने अभियानमा लागेको एकपछि अर्को घटना बाहिएको छ । 

भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा प्रदर्शनकारीलाई उक्साउनुका साथै मुलुकका ऐतिहासिक धरोहर जलाउनमा तिनै कलाकारको संलग्नता भेटिएको छ । चलचित्र निर्माता तथा अभिनेता निश्चल बस्नेतसँगै उनकी श्रीमती स्वस्तिमा खड्का यतिबेला विवादको केन्द्रमा छन् । 

निश्चलले जलाइएको संसद भवन अघिल्तिर उभिएर भनेका थिए,‘नयाँ युगको शुरुवात हो यो ।’ स्वस्तिमाले चाहिँ जेनजीको लिडर दाबी गर्ने सुधन गुरुङ्ग संस्थापक रहेको ‘हामी नेपाल’ नामक एनजिओको नाम लिएर सहयोग आह्वान गरेकी थिइन् । विवादमा परेका अर्का कलाकार हुन्, दीपकराज गिरी । प्रदर्शनताका उनले फेसबुकमा ‘ल,अब बानेश्वरमा भेटौं’ लगायतका स्ट्याट्स लेखेका थिए । एक नेता बिमलेन्द्र निधीको घर जलाउन गएको तस्बिरबाट समेत उनी विवादित बनेका छन् । 

उनले लेखेका छन्,‘तोडफोड र आगजनीमा मेरो सहभागिता छैन ! यदि प्रमाणित हुन्छ भने हदैसम्मको कारबाही भोग्न तयार छु ।’ सार्वजनिक सम्पत्ति जलाउन उक्साउने र खरानी बन्दा रमाउनेको सूचीमा पूर्वफुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अमनप्रताप अधिकारी पनि छन् । उनले संसद भवनअगाडि उभिएर अपाच्य र अश्लिल शब्द प्रयोग गर्दै भिडियो बनाएका थिए । उनले भनेका थिए,‘तेरो राज्य सकियो । सब सकियो अब सब सकियो । सकियो अब तेरो देश ।’ अधिकारी आफैं ‘नेपो किड’ हुन् । उनको बुवा क्षेत्रप्रताप अधिकारी पूर्वमन्त्री थिए ।

"के सार्वजनिक सम्पत्ति जल्नु नयाँ युग हो ? सार्वजनिक सम्पत्ति जलाएर देशले समृद्धि र सुशासन हासिल गर्छ ?"

कलाकार तथा पाइलट विजय लामा पनि प्रदर्शनमा देखिएका छन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवापत्नी डा.आरजु राणा अध्यक्ष रहेको युलेन्स स्कूल जलाउँदा त्यहाँ पुगेका थिए । जलिरहेको युलेन्स स्कुलअगाडि उभिएर फ्यानहरुसँग तस्बिर खिचाए । ती तस्बिर सार्वजनिक भएपछि अप्ठेरोमा परेका उनले पनि प्रष्टीकरण दिएका छन् । लोकदोहोरी गायक तथा इन्द्रेणीका सेलिब्रेटी छत्र शाही पनि देश खरानी बनाउने अभियानमा संलग्न भएको पाइएको छ । 

काँधमा राष्ट्रिय झण्डा ओढेर उनी सरकारी सम्पत्ति तोडफोड र आगजनी गर्नेसँग मच्चिँदै हिँडेको तस्बिरहरु सार्वजनिक भएका छन् । मोडेल तथा कलाकार सुरुचि बुढाथोकीले एअरपोर्ट घेराउ गर्न प्रदर्शनकारीहरुलाई उचालेकी थिइन् । भिडियोमा उनले भनेकी छन्, ‘गाईजहरु सबै एयरपोर्टतिर जानुपर्यो है,हामी पनि अब एयरपोर्टतिर जान लागिरहेका छौं सबै जना । चोरहरुलाई भाग्न दिनुभएन ।’ 

देश खरानी बनाउने अभियानमा अन्य कलाकार,युट्युबर र कन्टेण्ट क्रियटर पनि रहेका छन् । प्रदर्शनकारीलाई संयमित बन्न आग्रह गर्नुको साटो उनीहरुले झन् ‘आगोमा घ्यु थप्ने’ काम गरे । र, त्यसलाई नयाँ युगको शुरुवातको नाम दिए । के सार्वजनिक सम्पत्ति जल्नु नयाँ युग हो ? सार्वजनिक सम्पत्ति जलाएर देशले समृद्धि र सुशासन हासिल गर्छ ? देश जल्दा रमाउने कलाकारमाथि उठेको प्रश्न हो यो । 

सिंहदरबार,संसद् भवन,सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना एउटा भवन मात्र थिएन । त्यहाँ करोडौं नेपालीको मेहनेत र दुःखको कमाइ थियो । असन्तुष्टि पोख्ने नाममा समाजका बुद्धिजीवी वर्ग मानिएकाले ती संरचना ध्वस्त पारिदिएका छन् ।  

सर्जक कि अराजक ? 

कलाकारहरु नै देश खरानी बनाउने अभियानमा लागेको एकपछि अर्को तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । देश जल्दा उत्सव मनाउनेहरु कसरी राष्ट्रका गहना हुन सक्छन् ? भन्ने प्रश्न उठिरहेका छन् । 

एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘निश्चल बस्नेत भनेको एउटा सर्जक होइन ? एउटा सर्जकले विध्वंशलाई कसरी समर्थन गर्छ ? सिंहदरबार,संसद भवन,सर्वोच्च अदालत नेपालको गहना,नेपालको उत्कृष्ट सिर्जना हो । अनि एउटा कलाकार, सृजनाकार र हामीले गहना मानेको व्यक्तिले नेपालको गहना विध्वंश गर्ने कार्यको कसरी अग्रसरता लिन सक्छ ? अत्यन्तै दुःखद् । यस्ता ढोगी कलाकारको जनताले राम्रोसँग पहिचान गर्नुपर्छ ।’

महेन्द्र मन्नुले राष्ट्रको गहनाहरु नै राष्ट्रलाई खरानी बनाउन हिँडेकोमा दुःख व्यक्त गरेका छन् । ‘भदौ २४ गते स्कूल जलिरहँदा कलाकार तथा पाइलट विजय लामा,संसद जल्दा कलाकार निश्चल बस्नेत र रोडिजका निर्देशक अमनप्रताप अधिकारीको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय जगतले चिनेका राष्ट्रको गहनाहरु नै राष्ट्रलाई खरानी बनाउन हिँडेसी कसलाई के भन्नु र खोइ ?’

खरानी बनाउनेको पक्षमा प्रतिष्ठान

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान विध्वंशमा रमाउने र देश खरानी बन्दा खुशीयाली मनाउनेहरुको पक्षमा उभिएको छ । जेनजी विध्वंशसँग जोडेर कलाकारलाई बद्नाम बनाउन खोजिएको प्रतिष्ठानको भनाइ छ । छानबिन आयोगको प्रतिवेदन आउनुअगावै कलाकारमाथि आरोप लगाउनु मानहानी भएको प्रतिष्ठानको ठहर छ ।

टिप्पणीहरू