प्रचण्ड र माधव नजिकिए
पछिल्लो पटक २०७९ मा फुटको नयाँ शृङ्खलाबाट थिलथिलो बनेको वाम राजनीति फेरि एकपटक पुनर्गठनको दिशामा अघि बढ्ने संकेत देखिएको छ । कार्तिक अन्तिम सातासम्म नेपालका वामपन्थीहरुको नयाँ दुई दल दर्ता हुने तयारी भइरहेको छ ।
तीमध्ये नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच एकीकरणको तयारीलाई विशेष रुपमा हेरिएको छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी एकीकरण गरी नयाँ दलको नाम “नेकपा समाजवादी केन्द्र” राख्ने तयारी गरेको बताइँदैछ ।
माओवादी केन्द्रका अनुसार दल दर्ताका लागि आवश्यक कागजातको तयारी भइरहेको छ । यो प्रक्रिया कार्तिक २० गते बिहिबार वा २१ गते शुक्रबारसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
तर सबै वाम घटक उक्त एकीकरणमा सहमत देखिएका छैनन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समूह)ले नयाँ पार्टीमा सहभागी नहुने निर्णय गर्दै हिजो नै निर्वाचन आयोगमा दल दर्ताको तयारी थालेको छ । माओवादी केन्द्रभित्र पनि असन्तुष्टि देखिएको छ । उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइसकेका छन् । पार्टीभित्र लामो समयदेखि प्रचण्ड र वर्षमान पुनबीचको आन्तरिक शक्ति–सन्तुलनका कारण प्रभाकर असहज स्थितिमा पुगेको अनुमान लगाउन सकिन्छ ।
रुकुम पश्चिमका जनार्दनलाई २०८४ को निर्वाचनमा अध्यक्ष प्रचण्डले आफ्नो जन्मथलोमै बागी उम्मेदवार बनाउने रणनीति अपनाएको आरोप कतिपयको छ । पार्टीभित्र वर्षमानलाई प्रचण्डको ‘उत्तराधिकारी’ बनाउने योजनाको अनुभूतसँगै शर्मा टाढिएको हुनसक्ने आकलन छ ।
निर्वाचन आयोगमा नयाँ दल दर्तापछि वाम राजनीतिमा शक्ति–पुनर्संरचना हुने कतिपयको विश्लेषण छ ।
टिप्पणीहरू