नेकपा एससँगको एकताबारे नारायणकाजीको अर्कै भनाइ

नेकपा एससँगको एकताबारे नारायणकाजीको अर्कै भनाइ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीसँग हतारमा एकता गर्न नहुने बताएका छन् । 

दुई पार्टीबीच एकता प्रक्रिया निश्कर्षमा पुग्नै लागेको चर्चा भैरहेका बेला उनको यस्तो धारणा आएको हो । समग्र कम्युनिष्ट आन्दोलनले माग गरेअनुसारको रुपान्तरण र पुनर्गठनसहितको एकीकरण हुनुपर्नेमा नेता श्रेष्ठको जोड छ । 

'नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो', उनले भनेका छन्, 'तर, एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।'

माओवादी केन्द्रले एकीकृत समाजवादीसंग एकताको पहल गर्ने निर्णय गरेको जनाउँदै श्रेष्ठले धैर्यतापूर्वक प्रयत्न गर्नुपर्ने मत राखेका छन् । सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समाष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने उनको भनाइ छ। 

श्रेष्ठले भनेका छन्, 'सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ । त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र  एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।'

दुबैतिरका केही नेता पार्टी एकताप्रति सन्तुष्ट नभएको चर्चाका बीच यसबारे निर्णय लिन एसको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेता श्रेष्ठको यस्तो भनाइ आएको हो ।
 

टिप्पणीहरू