बिग्रेको व्यवस्था भत्केको चाला, कहिलेसम्म जाला ?
आगामी फागुन २१ गते चुनाव गराउने कार्यभार पाएको सरकारको मिसन एकातिर छ तर निशाना अर्कोतिर देखिएको केही घटनाले पुष्टि गर्छन् । दलका प्रमुख नेतालाई थुनिहाल भनेर प्रहरीलाई दिइएको दबाब काम लागेन किनकि नियम, कानुन बुझेको प्रहरीले मौखिक आदेशका भरमा मात्रै जाहेरी लिन सकिँदैन भनिदियो ।
जाहेरी नै लिने भए सिंहदरबार जलाउँछु भन्ने बालेनबाट शुरु गरौं भन्दिएपछि सरकार हायलकायल भइदियो । यसबाट पार नलागेपछि दलका नेतालाई अँठ्याउन सम्पत्ति शुद्धीकरणको सहारा लिन खोजेको देखिँदैछ । स्रोतले भन्यो, ‘अरू कसुरबाट देखिएको सम्पत्ति भेटिए एउटा कुरा, नगद भेट्दैमा सम्पत्ति शुद्धीकरण हुँदैन । त्यो नहुने भएको हुनाले सोचेजस्तो गर्न सजिलो छैन ।’
अनुसन्धान गर्ने निकायको उच्च स्रोतकाअनुसार देउवाको घरमा नगद भेटिएको भनेर गरिएको प्रचार गलत पुष्टि भइसकेको छ । फरेन्सिकले आएको भिडियो सही होइन, एआईबाट बनाइएको भनेर रिपोर्ट बुझाएको छ । स्रोतले भन्यो, ‘प्रेम राईलाई बोलाएर ३ महिनाअगाडि ओलीले यो दीपक भट्टलाई केही नगर्नु भन्नुभएको रहेछ तर सबै प्रधानमन्त्रीलाई बिगार्ने ठूला बिचौलिया यिनै हुन् । भदौ २४ गते अरू नेता र संरचनामाथि आक्रमण हुँदा यिनी जोगिए । सुदन गुरुङको हामी नेपाललाई फण्डिङ गर्नेमा दीपक भट्ट थिए । लगानी गर्ने मान्छे नै उही भएपछि उसैलाई आन्दोलनकारीले कसरी हानुन् त ?’
कच्चा मन्त्रीले कुरै नबुझी जथाभावी आदेश दिए ब्युरोक्रेसीले के गर्ने हो ? जेन्जी लगाएर सचिव बनाउन मिल्दैन, सहसचिव बनाउन मिल्दैन अनि दबाब मात्रै बढाएर हुन्न । प्रशासनिक, विधि प्रक्रिया, नियम र कानुनका अनेक पाटा हुन्छन् तर सरकारमा बसेकाले लहडी कुरा गरेपछि प्रशासनिक नेतृत्व अहिलेको सरकारसँग तीव्र असन्तुष्ट बनेको अवस्था छ ।
बिना तयारी पछिल्लो समय राजदूत फिर्ता बोलाउने कदमको चौतर्फी आलोचना भएको छ । एकातिर परराष्ट्रमन्त्री चयनसमेत गर्न नसक्ने, अर्कोतिर ठूला देशमा गएका राजदूत फिर्ता बोलाउने स्थिति छ । जबकि राजदूत राजनीतिक नियुक्ति भन्दै फिर्ता बोलाइयो । ‘चुनावको बेला विदेशी सहयोग पनि चाहिने होला । अर्को राजदूत पठाउन संसद छैन । सुनुवाइ हुने स्थिति छैन । अनि कामचलाउ सरकारको पुरानै ताल भएपछि झन् स्थिति के होला के ?’ परराष्ट्रविद्हरुको चिन्ता छ ।
अब नयाँ राजदूत पठाउँदा कति महिनालाई जाने ? एग्रिमो कहिले आउने, गएर ओहोदाको प्रमाण पत्र कहिले पेश गर्ने ? उता गएर कहिले लबिइङ गर्ने ? त्यतिञ्जेल चुनाव भइहाल्यो भने जाँदाजादै कार्यकाल खत्तम । नागरिक सरकारले यस्तो आलोकाँचो काम गरेपछि जनस्तरबाटै विरोधको स्वर उचालिएको छ । अर्कोतिर सिंहदरबार जोगाउन नसकेको, सर्वोच्च जल्न दिएको सेनाले मेयर बालेनसँग गरेको ढाकछोपको पनि आलोचना भइरहेको छ । ‘बालेनले सेनासँग वार्ता गर भनेर जेन जीलाई अह्राउने, सेनाले बालेनको ढाकछोप गर्ने, यो कस्तो रसायन हो ?’
टिप्पणीहरू