ओलीका गेटपाले, नेतामाथि मुखाले !
पासाङ शेर्पाले अघिल्लो एमालेको पछिल्लो केन्द्रीय कमिटीको बैठकमा ‘पार्टी पुनर्गठन गर्नुपर्छ भन्नेहरू विदेशीका एजेन्ट हुन्’ भनेपछि घाचघुच नै पर्यो । जेन जी विध्वंशको संकटमा अध्यक्ष फेर्नुपर्छ भनी अभिव्यक्ति दिनेलाई उनले केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको माग गरेका थिए । सहिनसक्नु भएपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुखभरिको जवाफ दिनुपरेको थियो ।
पाण्डेले भने, ‘तपाईंं नै एजेन्ट हो भनेर मैले भनेँ भने के भन्नुहुन्छ ?’ उनी यत्तिमै रोकिएनन् । ‘यही प्रश्न उठाइदिएँ भने तपाईंं कसरी प्रमाणित गर्नुहुन्छ म होइन भनेर ? बैठकभित्र बोल्न नपाउने कुरो हुन्छ ? हरेकले आफ्नो कुरा राख्न पाउनुपर्छ । सकियो भने हटाइन्छ पनि । तपाईं के गर्नुहुन्छ ?’ भन्दै कराए ।
खासमा पासाङले विदेशीका एजेन्ट भनेर सचिव योगेश भट्टराईलाई ताकेको स्रोत बताउँछ । अहिले क्षितिज थेबे र पासाङहरू मिलेर ताप्लेजुङमा योगेश भट्टराईलाई विस्थापित गर्न खोज्दैछन् । पासाङले जिम्मेवार नेतालाई यसरी गिराएर गाली गरेपछि पाण्डेले ‘हामीले पार्टी बनाउँदा तपाईंं कहाँ हुनुहुन्थ्यो ?’ भन्दै प्रश्न गरेका थिए ।
सहिनसक्नु भएपछि ओलीलाई बोक्ने सूर्य थापासमेत नबोली बस्न सकेनन् । ‘प्रतिक्रियावादीका एजेन्ट भनेपछि सूर्य थापा पनि नबोली बस्न सक्नुभएन,’ उनले भने, ‘को–कसका एजेन्ट हुन्, यहाँ स्वःघोषणा गर ।’ सेनाको सुरक्षाबाट अध्यक्ष ओली भक्तपुरको गुण्डु सरेपछि कतिपयले पासाङलाई गुण्डुको गार्डको उपमा दिएका छन् ।
‘अहिले ऊ गुण्डुको गार्ड हो, ओली बसेको ठाउँमा फलामको ढोका हालेर महेश बस्नेत र अरू केटाहरू पनि बस्छन्, पासाङ त्यो गेटको कमाण्डर हो, ओलीलाई सुरक्षा दिने भन्दै खेलकुद परिषद्का केटाहरू जम्मा पारेर त्यसको मेन कमाण्डर पासाङ भएको छ ।’ अहिले ओलीको मन जित्न सफल भए पनि पासाङको विगत बदनामीले भरिएको छ । उनलाई पुनरावेदन अदालतले बहुविवाहमा दोषी ठहर गरिसकेको छ, तर के भएर जेल हाल्न रोकिएको हो, थाहा छैन ।
‘बैठकमा उसले ओलीका आलोचकहरूलाई यति धेरै गाली गर्यो कि कसैले रोक्न सकेन । त्यस्तो नबोल भनेर रुलिङ पनि भएन । भानुभक्त ढकालले जस्तै ‘दलाल, विदेशीका एजेन्ट’ भनेर आरोप लगायो । पार्टीमा रामो पोजिसन र प्रतिष्ठा भएका नेताले सुन्नै नसक्ने गरी यी मान्छेले बोलेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललेसमेत ‘के होला साथीहरूको ताल ? अलिकति विगत पनि सम्झिनुपर्छ नि’ भन्दै थिए । पहिले कम्युनिष्ट आन्दोलनमा फरक मत राख्ने जतिलाई ‘गद्दार’ भन्ने चलन थियो । पुष्पलाल गद्दार, मोहनविक्रम गद्दार, निर्मल लामा गद्दार– यस्तो विशेषणको बाढी नै लाग्थ्यो ।
टिप्पणीहरू