भूपू प्रधानमन्त्री रित्तै, सेबोन अध्यक्षको सवारी डिएसपीको कमाण्डमा
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नेपाल प्रहरीका डिएसपीको कमान्डमा रहेको प्रहरी सुरक्षा घेरामा कार्यालय पुगेका छन् । बोर्ड कर्मचारीका अनुसार,अध्यक्ष श्रेष्ठको बिहान कार्यालय आगमनअघि प्रहरीको एक टोली सेबोन प्राङ्गणमा पुगेको थियो ।
प्रहरी टोली कार्यालय पुगेर रेकी गरेपछि ११ बजेको हाराहारीमा श्रेष्ठ पछि–पछि जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपीको गाडीसहित कार्यालय पुगेका थिए । अध्यक्षलाई कार्यकक्षसम्म प्रहरीले सुरक्षा प्रदान गरेको थियो । करिब १० मीनेटसम्म प्रहरी टोली कार्यालयमा बसेर फर्किएको कर्मचारीहरुले बताए ।
यता बोर्डका कर्मचारी ३७ दिनदेखि कामकाज ठप्प पारेर आन्दोलनमा छन्। आन्दोलनरत कर्मचारीहरुबाट आफू असुरक्षित महसुस भएको जानकारी गराएपछि प्रहरीले सुरक्षा दिएको हो ।
आन्दोलनको मुख्य कारण अर्थ मन्त्रालयले असोज २ गते पठाएको पत्र रहेको बताइन्छ । पत्रमा “धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र सेबोन कर्मचारी कल्याण कोष तथा सुरक्षण कोष सम्बन्धी कार्यविधि तत्काल खारेज गर्ने” उल्लेख छ ।
कर्मचारीहरू आफूले गरेका काममा अर्थ मन्त्रालयले जुनसुकै बेला प्रश्न उठाउन सक्ने र बनेका विनियमावली,निर्देशिका तथा कार्यविधि खारेज गर्नसक्ने भन्दै सेबोनलाई स्वायत्त निकाय बनाउनुपर्ने र असोज २ गतेको पत्र फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज बिना सुरक्षा पार्टी बैठकमा सहभागी भएका छन् । धुम्बाराही नजिकैको मिराकल पार्टी प्यालेसमा राखिएको पार्टी केन्द्रीय समितिको बैठकमा जाँदा अध्यक्ष नेपालसङ्ग सरकारी सुरक्षा टोली थिएन । सरकारले हिजोदेखि नेपालको सुरक्षामा खटिएको टोली हटाइदिएको छ ।
टिप्पणीहरू