बालेनले गृहमन्त्री हटाउन दबाब दिएको चर्चा चुलिएपछि.....

बालेनले गृहमन्त्री हटाउन दबाब दिएको चर्चा चुलिएपछि.....

कसैको दबाब वा प्रभावमा परेर सरकारका मन्त्री हेरफेर नहुने प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको चर्चा चलेपछि प्रधानमन्त्रीको सचिवालयले आज विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

जेन-जी आन्दोलनबाट व्यक्त जनादेशअनुसार सरकार गठन भएको र गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा गृहमन्त्री सक्रिय रहेको पनि विग्यप्त्मा उल्लेख छ ।

संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।

बालेनले गृहमन्त्री अर्याललाई हटाएर मिरा चौधरी वा राजु पाण्डेमध्ये एक जनालाई उक्त पदमा लैजाने प्रधानमन्त्री कार्कीलाई दबाब दिएको यसअघि चर्चा व्यापक थियो । प्रधानमन्त्रीको सचिवालयको यो प्रष्टोक्तिसँगै आफ्नै पूर्वसल्लाहकारलाई मन्त्रीबाट हटाउने उनको प्रयासले सफलता नपाउने देखिन्छ ।

टिप्पणीहरू