काँग्रेसका जेनजीले मागे सुशासन आयोग

काँग्रेसका जेनजीले मागे सुशासन आयोग

नेपाली काँग्रेसमा आवद्ध जेन–जी उमेर समूहका युवाहरूले पार्टीमा सुशासन आयोग गठन गर्न माग गरेका छन् ।

देशमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरुवात गर्नुपर्ने भन्दै उनीहरूले उक्त माग उठाएका हुन् । पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने उनीहरूको जोड छ ।

यस सम्बन्धमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेन–जी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न नेतृत्वको ध्यानाकर्षण गराए । जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । 

भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि काँग्रेसका जेनजीहरूले माग गरेका छन् । नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा अघि बढाउने रोडम्याप सार्वजनिक गर्न उनीहरूको आग्रह छ ।

राईले नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए । जेन–जी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक पर्ने जनाए ।

टिप्पणीहरू