महेश बस्नेतको धम्कीप्रति आपत्ति, निष्पक्ष छानबिन माग
समाजवादी प्रेस संगठन नेपालले आस्था प्रकाशन प्रा.लि.का अध्यक्ष एवम् जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति कडा आपत्ति जनाएको छ।
जनआस्था डट कममा हिजो प्रकाशित एक समाचारलाई लिएर नेकपा (एमाले)का नेता महेश बस्नेतले धम्कीपूर्ण चेतावनी दिएका थिए। उक्त व्यवहारको भत्र्सना गर्दै समाजवादी प्रेस संगठनले तत्काल निष्पक्ष छानबिन र दोषीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
संगठनका महासचिव रोहित दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भत्र्सना गर्दछ।’ सत्य र तथ्यका पक्षमा कलम चलाउने पत्रकारहरूलाई धम्की र त्रासमा पार्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर पार्ने जनाउँदै संगठनले अध्यक्ष तथा प्रधान सम्पादक श्रेष्ठलगायत सबै सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्ने ठहर गरेको छ।
‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आत्मा हो,’ भन्दै विज्ञप्तिमा यसको संरक्षण सबै राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व भएको स्मरण गराइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका नेता बस्नेत उद्योगमन्त्री रहेका बेला पोस्तादाना खरिदसम्बन्धी एक निर्णयमा कैफियत देखिएको र उक्त विषयमा प्रहरीले अनुसन्धानको तयारी गरिरहेको समाचार जनआस्था अनलाइनले हिजो प्रकाशित गरेको थियो। समाचारमा बस्नेतलाई समेत अनुसन्धानको दायरामा ल्याउनेगरी अध्ययन अघि बढाइएको उल्लेख छ।
सोही समाचारलाई लिएर बस्नेतले हिजो सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण स्टाटस लेख्दै अध्यक्ष तथा प्रधान सम्पादक श्रेष्ठलाई समाचार पुष्टि गर्न सार्वजनिक चुनौती दिएका थिए।
याे पनि....
महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान
टिप्पणीहरू