बालुवाटार नबोलाएकोमा मुस्लिम जेनजीको आक्रोश

बालुवाटार नबोलाएकोमा मुस्लिम जेनजीको आक्रोश

सरकारले वास्तविक जेनजीलाई पाखा लगाएर एनजिओ तथा आईएनजिओसम्बद्ध युवाहरुलाई प्राथमिकता दिएको भन्दै 'जेनजी मुस्लिम नेपाल' आक्रोशित भएको छ । 

आफूहरुलाई कुनै पनि छलफल र संवादमा नबाेलाएर मुस्लिम समुदायमाथि विभेद गरिएको भन्दै मुस्लिम जेनजीले असन्तुष्टि जनाएको हो । आज एक विज्ञप्तिमार्फत् यससम्बन्धमा उसले सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीले हिजो विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र जेनजी प्रतिनिधिलाई बालुवाटार बोलाएर चुनावी माहोल बनाउनेबारे छलफल गरेकी थिइन् । तर, उक्त छलफलमा 'कथित जेनजी'लाई मात्र सहभागी गराएर वास्तविक जेनजीलाई बेवास्ता गरिएको मुस्लिम जेनजीको आरोप छ । 

‘पछिल्ला दिनहरुमा जेनजी शीर्षकमा भइरहेका राष्ट्रिय तहको छलफल र परामर्श प्रक्रियामा मुस्लिम समुदाय र विशेषगरी मुस्लिम जेनजी नेपाललाई बेवास्ता गरेको देखिन्छ, जुन आन्दोलनको भावनाविपरित छ’, विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनमा सहभागी सबै पक्षहरुलाई नसमेट्नु आन्दोलनको अवमुल्यन गर्नुसरह हो, अबका जेनजीसम्बन्धी सबै छलफल, नीति निर्माण र युवा सरोकारका कार्यक्रममा मुस्लिम जेनजी नेपाललाई अनिवार्य रुपले बराबरी समावेश गरिनुपर्छ ।’

हिजो त्रिपक्षीय वार्ताको क्रममा जेनजीकै फरक फरक समूहबीच नोकझोक चलेको बताइन्छ । आफूलाई जेनजीको अगुवा दावी गर्ने मिराज ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनमा अडान लिएपछि अन्य जेनजी युवाले धेरै तमासा नदेखाउन चेतावनी दिएका थिए । 

फागुन २१ गते जसरी पनि प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका युवा र ढुंगानाबीच करिब दश मिनेट नोकझोक चलेको जानकार स्रोत बताउँछ ।
 

टिप्पणीहरू