माओवादीसँग मिल्दै नेकपा एस, ओलीले जासिस गरेको ठहर

माओवादीसँग मिल्दै नेकपा एस, ओलीले जासिस गरेको ठहर

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादी केन्द्रसँग एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
 
जारी केन्द्रीय कमिटी बैठकमा पार्टी एकतालाई लिएर नेताहरू दुई धारमा देखिएका बेला उनको यस्तो भनाइ आएको हो । माओवादीसँग एकता गर्दै नयाँ समाजवादी पार्टी बनाउनका लागि पूर्ण विश्वासका साथ गृहकार्य अघि बढेको खतिवडाको भनाइ छ । 

बैठकले एकताको पक्षमा निर्णय लिने दाबीसमेत उनले गरेका छन् । माओवादीले 'माओवाद' छोड्ने र मार्गदर्शक सिद्धान्त 'माक्र्सवाद-लेनिनवाद' बनाउने बिन्दुमा सहमति जुटेको उनले खुलाए । 

यो सैद्धान्तिक विषयमा समानता स्थापित भैसकेकाले असन्तुष्ट हुनुपर्ने कारण केही नरहेको भन्दै उनले अब सम्मानित नेता झलनाथ खनाल लगायतले बिमति राखे पनि केन्द्रीय कमिटीले एकताको पक्षमा निर्णय गर्ने स्पष्ट पारे । 

'बैठकमा सम्मानित नेता खनालले राख्नुभएको सुझाव हो, एकता नगरौँ । गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो । बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो । निर्णय एकताको पक्षमा हुन्छ । र एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ', उपाध्यक्ष खतिवडाले भने, 'माओवाद उसले छोड्ने भयो, माओवादीलाई मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई मान्छ । हामी पनि त्यसलाई मान्छौँ । धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदान प्रदान गरेर मिलाइसकेका छौँ ।'

एमाले अध्यक्ष केपी शर्मा ओलीको 'पुरानै घर फर्किनुस्' भन्ने आह्वानलाई उनले पार्टी एकता भाँड्ने जासिसको संज्ञा दिएका छन् । 'केपी ओलीको आह्वान यो साजिस हो । हाम्रो एकता भाँड्न प्रयास गरेको मात्रै हो । उहाँ एकताको लागि कहिल्यै हुनुहुन्न', उनले भने । 

एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट नेतृत्व पुस्तान्तरण हुने पनि खतिवडाले प्रष्ट्याएका छन् ।

टिप्पणीहरू