अन्तरिम सरकार बर्खास्त गर्न सेनालाई राजावादीहरुको अपिल
राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै आएको शाही युवा शक्ति नेपालले आगामी कात्तिक २२ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने भएको छ ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले यसबारे जानकारी गराएको छ । २२ गते शनिबार साढे ११ बजे सामाखुसी चोकमा भेला भएर बाइक र्याली निकाल्ने जानकारी त्यसक्रममा गराइयो ।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार आफूहरूका लागि कुनै हालतमा स्वीकार्य नरहेको भन्दै आन्दोलनबाट हटाउने चेतावनी दिए । उनले अब राजसंस्थाको विकल्प नभएको दाबी गरे ।
त्यस्तै, नवराज सुवेदी नेतृत्वको ’जनान्दोलन समिति’ का प्रवक्ता तथा राजावादी अधिवक्ता स्वागत नेपालले पनि मुलुकमा राजा अपरिहार्य भैसकेको जिकिर गर्दै दुर्गा प्रसाईंलाई पनि साथमा लिएर आन्दोलनमा जाने बताए । अहिलेको संविधान जेनजी विरोधी भएकाले च्यातेर फाल्नुपर्ने उनको भनाइ छ ।
वर्तमान सरकारलाई तुरुन्तै बर्खास्त गरी अर्को सरकार गंठन गर्न उनले नेपाली सेनालाई अपिलसमेत गरेका छन् ।
टिप्पणीहरू