रास्वपाको ‘बृहत् राजनीतिक संवाद’मा बाबुराम भट्टराई

रास्वपाको ‘बृहत् राजनीतिक संवाद’मा बाबुराम भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी भएका छन्।

बालुवाटारस्थित नेपाल हाउसमा भइरहेको उक्त कार्यक्रममा भट्टराईसहित विभिन्न राजनीतिक दल, समूह, अभियन्ता र स्वतन्त्र व्यक्तिहरूको उपस्थिति रहेको छ।

भदौ २३ गतेको प्रदर्शन र २४ गतेको अकल्पनीय घटनापछि देशमा राजनीतिक ध्रुवीकरण तीव्र हुँदै गएपछि रास्वपाले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘बृहत् राजनीतिक संवाद’ शीर्षकमा वैकल्पिक भनिएका पार्टी, व्यक्ति र संघ–संस्थाहरूलाई आह्वान गरेको हो ।

सोहीअनुसार प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने)का नेता रेशम चौधरी, हाम्रो नेपाली पार्टीका अनन्तराज लुइँटेल, विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारलगायत सहभागी भएका छन्।

रास्वपाका अनुसार, परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच ‘जेन जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा संवाद आयोजना गरिएको हो।

टिप्पणीहरू