एमाले पत्रकारको घरमा मध्यराति ढुंगामुढा
नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको घरमा आक्रमण भएको छ ।
लमजुङको वेशी शहरस्थित घरमा हिजो मध्यराती अज्ञात समूहले ढुंगामुढा गरेको हो । प्रेस चौतारीले विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्त्सना गरेको छ ।
महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो आक्रमण योजनाबद्धरूपमा गरिएको हाम्रो निष्कर्ष छ, भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराती आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ ।’
आक्रमणका बेला पाण्डेको उक्त घरमा उनका बाबुआमा मात्र बस्दै आएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्र मानिने पाण्डे दुई दशकदेखि सञ्चार क्षेत्रमा आवद्ध छन् । ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नामक पुस्तक पनि उनैले लेखेका हुन् ।
टिप्पणीहरू