माधवहरूको जोड एकतामा, असन्तुष्टहरूको ‘नोट अफ डिसेन्ट’ मा

माधवहरूको जोड एकतामा, असन्तुष्टहरूको ‘नोट अफ डिसेन्ट’ मा

नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । बैठकको तेस्रो दिन बोल्ने अधिकांश सदस्य एकताको पक्षमा खुलेका छन् । उपमहासचिव मेटमणि चौधरीका अनुसार आज ६० जना केन्द्रीय सदस्यले धारणा राखेकोमा ४८ जना एकताको पक्षमा उभिए । 

‘खाजा अगाडि ६० जना कमरेडले भनाइ राख्नुभयो’, उनले भने, ‘जसमध्ये एकताको पक्षमा ४८ जना, विपक्षमा ६ जना, अनुपस्थित चार जना र कन्फ्युजनमा २ जना रहनुभएको छ ।’

केन्द्रीय सदस्यहरू पद्मा कुमारी गुरुङ, कृष्णकुमार श्रेष्ठ, उदय शर्मा, केदार कँडेल, अमला श्रेष्ठ, नेत्रप्रसाद भट्टराई, रामबहादुर चौहान, विश्वनाथ प्याकुरेल, हृदयेन्द्र शाही, प्रेम पौडेल, हनुमान चौधरी, भवानी खड्का, केदार संजेल, राधेश्याम गुप्ता, दिनेश सुवेदी, वीरेन्द्र भण्डारी, शेरबहादुर केसी, मनोज चौधरी, सुदेश पराजुली, रामबाबु अधिकारी लगायतले एकताको पक्षमा धारणा राखेको चौधरीले जानकारी दिए । 

एकीकृत समाजवादीको नेतृत्व तहमै माओवादीसँगको पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारे विवाद रहँदै आएको छ । अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी एकताको पक्षमा रहँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत विपक्षमा छन् । 

जारी केन्द्रीय कमिटी बैठकमा पनि यसैलाई लिएर सदस्यहरू विभाजित भएका हुन् । आजै एकताको निर्णयसहित बैठक टुंग्याउने संस्थापन पक्षले तयारी गर्दा झलनाथसहित असन्तुष्ट समूह नोटअफ डिसेन्ट लेख्ने तयारीमा रहेको बताइन्छ ।

टिप्पणीहरू