"चुनाव हुन नसके फेरि सेना शक्तिशाली"

"चुनाव हुन नसके फेरि सेना शक्तिशाली"

तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन नभए नेपाली सेनाको हातमा सत्ता जानसक्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले चिन्ता व्यक्त गरेका छन्।

आज गृह मन्त्रालयमा केही पत्रकारहरूसँगको अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो खतरा औंल्याएका हुन् । तर,सरकार तोकिएकै मितिमा चुनाव गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्दै उनले सबै राजनीतिक दल,जेनजी, नागरिक समाज र मिडियाले पनि साथ दिनुपर्ने बताए । 

भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर हिँडेपछि अर्को सरकार गठन नहुँदासम्म सत्ता सेनाको हातमा पुगेको स्मरण गर्दै उनले फेरि त्यस्तो अवस्था आउन दिन नहुनेमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन् । त्यसबेला सेनाले सकारात्मक भूमिका खेलेकै कारण नागरिक सरकार गठन भएको गृहमन्त्रीको तर्क छ । 

गृहमन्त्री अर्यालले दुई चरणमा चुनाव हुनसक्ने संकेत पनि गरेका छन् । केही हिमाली जिल्लामा मौसम प्रतिकूल हुनसक्ने अनुमानका आधारमा त्यस्तो संकेत गरेका उनले फागुन २१ मा देशैभर एकैसाथ निर्वाचन गराउने तयारीमा सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । 

'अहिलेसम्म फागुनमा चुनाव गराएको इतिहास छैन । यदि मौसम प्रतिकूल भए केही हिमाली जिल्लामा ८-१० दिनपछि सर्ला तर चुनाव हुन्छ,हामी सबै मिलेर गर्नुपर्छ', गृहमन्त्री अर्यालले भने । 

तोकिएको मितिमा चुनाव नभए मुलुकमा राजनीतिक तथा संवैधानिक संकट निम्तिने खतरातर्फ गृहमन्त्रीले सचेत गराएका छन् । त्यो अवस्थामा दलहरूले जेनजीलाई नमान्ने अनि जेनजीले दलहरूलाई स्वीकार नगर्ने हुँदा भदौ २४ मा जस्तै सेनाको भूमिका अगाडि आउने उनको बुझाइ छ । 'हामी सबै जिम्मेवार भएर यस्तो अवस्था आउन नदिन निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन', उनले भने । 

गृहमन्त्री अर्यालले आफूलाई हटाउन प्रधानमन्त्रीमाथि दबाब दिइएको भन्ने सन्दर्भमा पनि मुख खोलेका छन् । सरकारलाई कमजोर बनाएर अस्थिरता सृजना गर्न विभिन्न स्वार्थ समूहले यस्तो अफवाह फैलाएको उनको जिकिर छ ।  

'अहिलेसम्म फागुनमा चुनाव गराएको इतिहास छैन । यदि मौसम प्रतिकूल भए केही हिमाली जिल्लामा ८-१० दिनपछि सर्ला

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले गृहमन्त्री हटाउन प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको चर्चा चलिरहेको छ । अर्यालले यसलाई भ्रमपूर्ण प्रचार भनेका छन् । सामाजिक सञ्जालमार्फत योजनावद्ध रूपमा यस्तो हल्ला चलाइएको दाबी गरेका उनले कसैप्रति संकेत भने गरेनन्। 

दुई वटा कारणले यस्तो हल्ला चलाइएको अनुमान गृहमन्त्रीले गरेका छन् । उनका अनुसार व्यक्तिगत रुपमा आफ्नो छवि कमजोर बनाउने कतिपयको योजना हुनसक्छ । अर्को चैं मन्त्री फेरिँदै गरेको प्रचार गराएर मन्त्रालय र मातहतका निकायबीच अविश्वास सृजना गराई सरकारलाई कमजोर बनाउने षड्यन्त्रका रूपमा उनले हेरेका छन् । 

यस्ता भ्रामक हल्लाका पछाडि नलाग्न भन्दै गृहमन्त्री अर्यालले मिडियाहरूलाई पनि यथार्थमा आधारित समाचार लेख्न आग्रह गरेका छन् ।

टिप्पणीहरू