झलनाथविरुद्ध ८ मतको कटाक्ष
एमाले नेता विष्णु रिजालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालमाथि सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । गत वर्ष इलाममा सम्पन्न उपनिर्वाचनमा खनालको वडामा एकीकृत समाजवादी पार्टीलाई प्राप्त आठ मत र उक्त पार्टीभित्र हाल देखिएको विग्रहको सम्भावनाबारे रिजालले उल्लेख गरेका हुन् ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एकीकृत समाजवादीका पक्षमा जम्मा आठ मत मात्रै मिलेको उल्लेख गर्दै रिजालले अहिले खनालले नयाँ पार्टी गठनको चर्चा चलाएपछि कटाक्ष गरेका हुन् । उक्त उपनिर्वाचनमा पार्टीले जम्मा ४०८ मत पाएको थियो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रमा एकीकृत गराउने निर्णय गरेपछि खनालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । सोही विषयमा रिजालले लेखेका छन्, ‘अब ७७ वर्षमा फेरि लफ्फाजी हाँकेर अरूलाई दुःख दिनुभन्दा आराम गर्नु उचित होइन र ? जनताले ऐना देखाएकै छन् त !’
टिप्पणीहरू