माओवादीको अन्तिम बैठक मंगलबार, २० गते संयुक्त
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न कम्युनिष्ट घटकहरूको एकतापछि बन्ने पार्टीको बैठक कात्तिक २० गते बस्ने भएको छ ।
आज पेरिसडाँडामा बसेको सचिवालय बैठकले एकतामा आउने दलहरूको संयुक्त बैठक २० गते बिहीबारका लागि तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यसअघि मंगलबार माओवादीले अन्तिम केन्द्रीय कमिटी बैठक बोलाएको छ।
सचिवालय बैठकले एकतासम्बन्धी निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय पनि गरेको छ । नेता जनार्दन शर्माले भने बैठक बहिष्कार गरेका छन्।
संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा आफ्नो निरन्तरताका लागि पार्टी एकताको निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उनले हिजोकै बैठकमै राखेका थिए । आज भने उनी अनुपस्थित रहेको प्रवक्ता सापकोटाले बताए।
शर्मा अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष बैठकले निकालेको उनको भनाइ छ ।
'आज जनार्दन शर्मा आउनु भएको थिएन । त्यसमा थप छलफल भएन । हिजो नै मैले भनेको थिए–उहाँले आफ्नो कुरा राख्नुभयो । अनि अध्यक्षले बस्नुस्, अरूको पनि कुरा सुन्नुहोस् भन्नुभयो । सबैले बस्नुस् भन्दा उहाँ हिँड्नुभयो', सापकोटाले भने, 'हामीले हिजै भनिसकेका छौँ कि त्यो राम्रो भएन । त्यो अलि अराजक तौरतरिका भयो भनेर हिजै भनिसकिएको छ । आज त्यस विषयमा थप छलफल केही भएन ।'
पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि आज छलफल भएको माओवादी केन्द्रले जनाएको छ ।
टिप्पणीहरू