वामहरू भन्छन् - हिँड्ने त उठेरै हो !
माधवकुमार नेपालले पार्टी माओवादीलाई बुझाइदिए भन्छन् झलनाथ खनाल । एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने तयारीमा उनी छन् । पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको दाबी उनको छ । उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको पनि उनी जिकिर गर्दछन् । जबज हटाए एमालेसँग एकता हुन सक्छ भनिरहेका छन्।
योगेशकुमार भट्टराई जबजको मार्गनिर्देशन र एमालेको अगुवाइमा समग्र वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो भन्छन् । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वका माध्यमबाट पार्टी सुदृढ र एकताबद्ध बनाउन सकिने उनको धारणा छ । जबजलाई सिद्धान्तका रूपमा स्वीकार नै एकताको पहिलो आधार हुनुपर्छ भन्छन् योगेश ।
जनार्दन शर्मा पार्टी पुनर्गठन नगरी एकीकृत समाजवादीसँग एकता गर्दा हानिकारक हुन्छ भनिरहेका छन् । पुष्पकमल दाहाल प्रचण्डले 'माओवाद' छाड्न लागेको र महाधिवेशन टार्न खोजेको पनि भन्छन् उनी । नेतृत्व हस्तान्तरणको बहस र महाधिवेशनको तयारी छाडेर अरूसँग एकता गर्दा माओवादीको पहिचान नै मेटिने तर्क पनि गर्छन् ।
माओवादी केन्द्र र एसबीचको एकतालाई 'जेनजी विद्रोह' विपरीतको कदम ठान्छन् सुदन किराँती । प्रचण्ड शर्मालाई अराजक भनिरहेका छन् । बैठकमा आफ्ना कुरा सुनाएर अरूको कुरा नसुनी फुत्त उठेर हिँड्ने शैली नराम्रो हो भन्ने प्रचण्डको ठहर छ ।
यसमा नारायणकाजी श्रेष्ठको टिप्पणी छ- हिँड्ने त उठेर नै हो ! शर्मा पार्टीका लागि आवश्यक भएको उनी बताउँछन् । तर, उनै शर्मा पार्टी सचिवालय र महाधिवेशन आयोजक कमिटी बैठक बहिष्कार गर्छन् ।
केपी शर्मा ओली एसलगायत बाहिर बसेका पूर्वएमाले कार्यकर्तालाई घर फर्कन आह्वान गर्छन् । तर, एसका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता हुँदैन पनि भनिरहेका छन् । व्यक्ति-व्यक्ति आए स्वागत गर्न तयार तर समूहमा त हुँदै हुँदैन भन्छन् । समूहगत रूपमा एमाले र फलानो समूहबीच पार्टी एकता भयो भन्ने कुरा आफ्ना लागि स्वीकार्य नभएको बताउँछन् ओली ।
प्रकाश ज्वाला एकताप्रतिको विरोधमा भ्रम फैलाइएकोमा आक्रोशित सुनिन्छन् । ओलीले घर फर्क भनेर भ्रमको जाल फ्याँकेको उनको बुझाई छ । यसलाई एकता प्रक्रिया भाँड्ने दुष्प्रयास हो भन्छन् उनी ।
नेत्रविक्रम चन्द एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो, समयले धेरै पछि छाडिसक्यो भन्छन् । यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो भन्ने उनी इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ भन्छन् ।
मोहनविक्रम सिंह उमेर हदको विषय विश्वमा कतै पनि नभएको बताउँछन् । नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टि र इमान्दारी नै मुख्य मापदण्ड हुन्छ भन्छन् । वाम एकता अहिलेको आवश्यकता भए पनि अहिले त्यो वातावरण बनिनसकेको सिंहको तर्क छ ।
टिप्पणीहरू