झलनाथ–घनश्याम समूह घनिभूत छलफलमा

झलनाथ–घनश्याम समूह घनिभूत छलफलमा

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षबीच पनि मतभेद उत्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालसहित ठूलो संख्या नेकपा (माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिँदा चर्को आलोचनासहित विपक्षमा देखिएका नेताहरुबीच पार्टी पुर्नगठन गर्ने कि मातृपार्टी एमालेमा फर्किने भन्ने विषयमा मतान्तर देखिएको हो ।

बताइएअनुसार खनाल र भुसाल समूहका नेताहरु तीन घण्टादेखि छलफलमा छन् । उनीहरुले नेकपा एसलाई नै पुनर्गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको एकथरीको भनाई छ । तर रामकुमारी झाँक्री, अम्मरबहादुर थापासहितका नेताहरु भने एमालेमा फर्किने मनस्थितिमा पुगेको बताइन्छ । यद्यपि, अझै निश्चित भइनसकेको पूर्व सांसद समेत रहेका थापाले बताए । 

उनका अनुसार बैठकमा सकेसम्म माओवादीसँग एकताको विपक्षमा रहेका नेताहरु तितरबितर नभई एकैठाउँमा रहेर अघि बढ्ने ढंगले छलफल भइरहेको छ । ‘छलफल जारी छ, निर्णय अझै टुंगो लागेको छैन’, थापाले बैठकस्थलबाट भने, ‘हामी सकेसम्म एकैठाउँमा रहेर अघि बढ्नेगरी छलफल गरिरहेका छौँ, परिस्थितिले के माग्छ, त्यो विस्तारै थाहा हुन्छ ।’

टिप्पणीहरू