असरल्ल फोहोर, भत्काउन अग्रसर, काठमाडौं महानगर

असरल्ल फोहोर, भत्काउन अग्रसर, काठमाडौं महानगर

गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित महत्त्वपूर्ण सरकारी भवन जलिरहँदा दमकल नपठाएको आरोप खेपिरहेको काठमाडौं महानगरपालिका पुनः विवादमा तानिएको छ । 

थापाथलीस्थित ट्राफिक प्रहरी वृत्त भत्काउन डोजर लिएर महानगर प्रहरी पुगेपछि आज सामाजिक सञ्जालमा चर्को आलोचना भयो । फोहोर व्यवस्थापनको समस्या फेरि बल्झिएको अवस्थामा आन्दोलित पक्षसँग वार्ता गर्नुको साटो महानगर ट्राफिक प्रहरी कार्यालय भत्काउनतिर लागेपछि विरोध भएको हो ।  

सामाजिक सञ्जालमा एकजना प्रयोगकर्ताले लेखेका छन्, ‘फोहोर उठाउन छोडेर प्रहरीको बिट उठाउन हिँड्या छ, महानगर । सिस्नोपानी लगाउन पर्ने हो मतदाताले खासमा तर खोई गोर्खेहरुको आँट ?’ अर्काले व्यङ्ग्य गर्दै भनेका छन्, ‘भौमानलाई सिस्नु चल्दैन रे, गाँजा बुटी चढाउनू ।’

‘प्रहरी बिटहरुमा आगो लगाएर नपुगेपछि अब भत्काउन पुगे, प्रहरीको मनोबल उठाउनभन्दा गिराउन तल्लिन,’ महेश दासको भनाइ छ । ‘जलाउने भत्काउने खरानीमा रमाउनेबाहेक अरु के छ र,’ रमेश भिमान अधिकारी भन्छन् । 

त्यस्तै, मनोज आठपहरियाले लेखेका छन्, ‘वैकल्पिक विकल्प त खोज्नु वा देखाउनुपर्ने जस्तो लाग्छ । खाली भत्कायो, हिरो बन्यो खै हो ।’ ‘राति काण्ड गरेर बिहान कबरअफ गर्न ट्राफिक पोष्ट भत्काउन पुगेछ फेरि । एउटा व्यक्तिको कबरअफमा के के बिग्रिने, भत्किने र जल्ने हो यार,’ लक्ष्मण ढुंगानाको भनाइ छ । 

गएराति फेसबुकमा लेखिएको अश्लिल र अमर्यादित स्टाटसका कारण काठमाडौंका मेयर बालेन्द्र साहको चर्को आलोचना भइरहँदा आज महानगर प्रहरी टोली थापाथलीको ट्राफिक प्रहरी कार्यालय भत्काउन पुगेको थियो । सो कार्यालय २०३० सालदेखि गुठीको जग्गामा बस्दै आएको छ ।

यद्यपि, स्थानीय प्रशासनको पत्रपछि अन्तिममा महानगर रोकिन बाध्य भएको हो । यता, काठमाडौं महानगरपालिका र संघीय सरकारले १८ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलित बञ्चरे डाँडा वरपरका स्थानीयलाई शहरी विकासमन्त्री कुलमान घिसिङले आश्वस्त पारेका छन् ।

प्रभावितहरुले मेयर साह वार्तामा सहभागी हुनुपर्ने माग राखोपनि आज बिहान मन्त्री घिसिङ स्वयम् बञ्चरेडाँडा पुगेपछि १५ दिनभित्र समस्या समाधान गर्ने आश्वासन दिलाए । दिउँसोदेखि फोहोर उठ्न थालेको छ ।

 

टिप्पणीहरू