सात पटक म्याद थपियो, अझै अलपत्र
– यदुनाथ बञ्जारा
पोखरा महानगरपालिका–२९ मुसेटुडा र ३३ को तिक्लाङ जोड्ने पुल निर्माण वर्षौंदेखि अलपत्र छ । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकी विभिन्न बहाना बनाएर ७ औँ पटकसम्म ठेक्काको म्याद थप्ने काम भएको छ । निर्माण कम्पनीले बहाना खोजेर ठेक्का लगाउने कार्यालयलाई चित्त बुझाउने र स्वार्थ सिद्ध गर्ने कार्य हुनुलाई सामान्य मान्न थालिएको छ ।
लुम्बिनी लोहनी मृत सञ्जीवनी जेभी काठमाण्डूले १४ करोड ५४ लाख ५२ हजारमा पाएको उक्त ठेक्का मिति २०७४ साल असार ७ गते सम्झौता भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल अहिलेसम्म अलपत्र देखिन्छ । पुल सेक्टर कार्यालय पोखराका सूचना अधिकारीले दिएको विवरणअनुसार ८० प्रतिशत भौतिक प्रगति र ७५ प्रतिशत वित्तीय प्रगति भएको उल्लेख छ । अन्तिम पटक म्याद थपिएको बाट ३ महिना पनि बाँकी छैन ।
सार्वजनिक खरिदसम्बन्धी कानुन १४ औँ पटकसम्म संशोधन भयो तर राज्यले कहिल्यै जित्न सकेन । मुसेटुडा – तिक्लाङ पुल निर्माण कम्पनी आफैँले डिजाइन गरेको योजना हो । डिजाइन फेल भएका कारण रिभाइज गरिएको साइट इञ्जिनियर आशीष पोखरेलले बताए । उक्त पुल निर्माण गरेको लुम्बिनी लोहनी मृत सञ्जीवनीले पोखराको तीन वटा पुल (सेती गण्डकीमाथिका ) निर्माणको प्याकेज ठेक्का पाएको थियो ।
कोत्रे र याम्दी – लामाचौर पुलको एप्रोचको काम अलपत्र रहेको कारण सहज आवतजावत हुन सकेको छैन । बिगतका भौतिक योजनामन्त्री योजनाको प्रभावकारी निर्माणभन्दा ठेकेदारमैत्री हुने गरेका कारण नेपालका सार्वजनिक निर्माण योजना रुग्णको सूचीमा चाङ बन्दै गएको आरोप लाग्ने गरेको थियो । ५ महिने अन्तरिम सरकारको कार्यकालमा ठेकेदारले सरकारलाई तह लगाउँछ कि सरकारले ठेकेदारलाई त्यो भने हेर्न बाँकी नै छ ।
टिप्पणीहरू