भड्किएकै हो त भारत !

भड्किएकै हो त भारत !

एक महिनाअघि नेपालमा भड्किएको जेनजी आन्दोलनका पछाडि फ्री टिबेट मुभमेन्ट, युएस युथ काउन्सिल, जर्ज सोरोसलगायत कम्युनिष्ट विरोधी अनेकौँ तत्वको राम्रै हात रहेको नयाँ तथ्य क्रमशः खुल्दै जाँदा एउटा अर्को संयोग फेला परेको छ । के प्रधानमन्त्री केपी ओली सेप्टेम्बर ३ मा चीनबाट फर्केलगत्तै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सम्भावना थियो ? वा बीचमा मिति परिवर्तन गरियो ? के त्यो मिति परिवर्तनसँग आन्दोलनको कुनै साइनो फेला पार्न सकिन्छ? 

जानकार स्रोतले एउटा प्रसंग जनआस्थालाई बताएको छ । जसअनुसार जापानी फासिज्मविरुद्धको सैनिक परेडमा सहभागी जनाएर केपी ओली चीनबाट शनिबार फर्किएको दुई दिनपछि नयाँदिल्लीबाट सन्देश आयो– यसअगाडि सेप्टेम्बर १६ का लागि निर्धारित समय सरेर अक्टोबर ११ देखि १४ सम्मको लागि जुन तयारी भएको थियो त्यो हालका लागि स्थगन भएको छ । यसको अर्थ हो– भारतले बल्ल–बल्ल बनेको ओलीको भ्रमण तालिकालाई समेत कार्यान्वयनमा ल्याउने तत्परता देखाएन । 

त्यसभन्दा अगाडि समकक्षीको निम्तो बोकेर आएका विदेश सचिव विक्रम मिश्रीसँगको भेटमा ओलीले सेप्टेम्बर १५–१६ को बोधगयामा भेट्ने समय अलिक छोटो भयो, बरु पछिको मिलाऊँ तर ३–४ दिनका लागि दिल्लीबाटै थाल्ने योजना गरौं भन्ने प्रस्ताव राखेका थिए । उनले यस्तो प्रस्ताव राख्दा मिश्रीले म यसबारे छलफल गरेर खवर गर्छु भन्ने जवाफ दिए । नभन्दै खबर आयो– ओली अक्टोबर ११ मा दिल्ली जाने र १४ सम्म भ्रमण हुने । त्यसपछि ओली स्पेनको एउटा टापुमा हुने कार्यक्रममा सहभागी बन्न त्यसतर्फ लाग्ने र परराष्ट्रमन्त्री आरजु देउवा पनि संयुक्त राष्ट्रसंघीय निकायले मोन्टेनेग्रोमा आयोजना गरेको महिला सशक्तिकरणका लागि योगदान पुर्‍याउने नेत्रीहरूलाई पुरस्कृत गर्ने १५ तारिखको कार्यक्रममा सहभागी हुने योजना बन्यो । 

यस सन्दर्भमा धेरैको भनाइ के छ भने विगतमा भारतीय आँखाबाट नेपाललाई हेर्दै आएको अमेरिकाले यसपटक सिधै गतिविधि सञ्चालन गर्‍यो । जसको कारण चीन र भारत चकित पर्ने अवस्थामा पुगे । त्यसपछि हिन्दु राज्य फर्काउने सन्दर्भमा भारतले दुर्गा प्रसाईंलगायतका समूह र व्यक्तिहरूलाई सहयोग गर्ने हो कि भन्ने सम्भावना बढेको छ । यससँगै भारत जसरी पनि केपी ओलीलाई सत्ताच्युत गराउने तयारी र प्रयत्नमा थियो कि भन्ने अनुमान गरिँदैछ । 

यसको पृष्ठभूमि हेर्ने हो भने जुन २ तारिखमा सम्पन्न सगरमाथा संवादमा भारतबाट वन तथा वातावरण मन्त्रीसहित, चीनबाट माथिल्लो सभाका उपाध्यक्ष सहभागी हुने निश्चित भएको थियो । यी दुई बीचमा प्रोटोकोलको हिसाबले को माथि भन्ने प्रश्न उठ्यो । भारतले भन्यो– हाम्रा मन्त्री उपसभामुख सरहको भएको हुनाले उनलाई अगाडि राखिनुपर्छ । प्रधानमन्त्रीले संबोधन गरेलगत्तै उनले पालो पाउनुपर्छ । चीनको भनाइ थियो– हाम्रा प्रतिनिधि पोलिटब्युरो स्थायी समितिको सर्वशक्तिमान नौ जनामध्येका अर्थात् मन्त्रीभन्दा माथिल्लो तहका हुन् । त्यसैले पदीय मर्यादामा उनी माथि पर्छन् । यस्तो गलफत्तीबीच भारतले मन दुखाइ दुखाइ सहभागिता जनाएको थियो । सोल्टी होटलकै जलवायुसम्बन्धी अर्को छलफलमा संसदीय समितिका सभापति पठाउनुपर्नेमा भारतले एक जना कनिष्ठ सांसदलाई सहभागी बनायो । अघिल्लो वर्षको सेप्टेम्बरमा बिआरआईमा नेपालले हस्ताक्षर गरेपछि त भारत साँच्चै केपी ओलीसँग धेरै रुष्ट बनेको थियो ।

उता, चीनमा हुने सैनिक परेडमा नेपालका राष्ट्रपति सहभागी बन्ने जानकारी पाएपछि जापानी राजदूतले कूटनीतिक नोट नै पठाएर उनलाई सहभागी नहुन आग्रह गरे । त्यसपछि उपराष्ट्रपति जाने कुरा थियो । रक्षामन्त्रीलाई पठाउने कि भन्ने छलफल चलिरहँदा प्रधानमन्त्री म आफैँ जान्छु भनेर तम्सिएका कारण पनि विदेशीहरु उनीसँग झन् बढी रिसाएका थिए । 
यसबीच अर्को घटना भयो । चीन भ्रमणका क्रममा केपी ओली र मोदीबीच थियानजिनमा सेप्टेम्बर २ को दिउँसो ४ देखि ५ बजेका बीच भेटवार्ता हुने कार्यक्रम थियो । तर, अचम्म गरी त्यसभन्दा अगाडि अगस्ट ३१ तारिखका दिन कोरिडर जस्तोमा उनीहरूबीच उभिएर भलाकुसारी भयो । 

जानकारहरू भन्छन्, यसरी मोदीले अगाडि नै भेटेर यो नै राम्रो भयो भनेपछि परराष्ट्रमन्त्री आरजु देउवालाई केही अनिष्टको संकेत मिल्यो । उनले तत्कालिन प्रधानमन्त्रीको साथमा रहेका परराष्ट्र सचिवलाई फोन गरिन् । यी सबै घटना भएपछि शनिबार नेपाल फर्किएको दुई दिनमा दिल्लीबाट भ्रमण रोकिएको खवर आयो । त्यसको ३ दिनपछि हो, जेनजी आन्दोलन भड्किएको र ओलीले बालुवाटार छाडेर सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएको । 

त्यसो त यी घटनाक्रमबीच कांग्रेस वृत्तमा अब आन्दोलन हुन्छ र केपी ओलीलाई सरकारबाट हटाइन्छ भन्ने चर्चा चल्न थालिसकेको थियो । आन्दोलन शुरु भएकै दिन भदौ २३ गते आरजुलाई भेट्न युएस च्याम्बर अफ कमर्शका पदाधिकारीहरु परराष्ट्र मन्त्रालय गएका थिए । जसमा आठ जनामध्ये पाँच जना पदाधिकारी त अमेरिकी नागरिक नै बनिसकेका व्यक्ति हुन् । त्यस क्रममा आरजुले मेटालाई अलिक बढी आक्रामक नबन्न र नेपाललाई नरम दृष्टिकोण राखेर हेर्न आग्रह गरिदिनुपर्‍यो भन्ने अनुरोधसमेत गरेकी थिइन् । 

सोही क्रममा एक जना व्यक्तिको विशेष खोजी भयो । ती थिए– अमिस मानसिंह बस्नेत । पठाओको सञ्चालक रहेका यी त्यहाँ किन आएनन् भनेर सहसचिव दिलिप पौडेलले विशेष सोधखोज गरेका थिए । तर, पछि जानकारीमा आयो, उनी त्यसदिनको आन्दोलनमा भिडिसकेका रहेछन् । यी सबै प्रसंग केलाउँदै अहिले परराष्ट्र मन्त्रालयमा जेनजी आन्दोलन र भारतको भूमिकाबारे घनीभूत चर्चा चलिरहेको छ ।

(जनआस्था साप्ताहिकको कात्तिक १२ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू