एनआरएनएकाे रातिकाे बैठकमा एकताकाे रोडम्याप

एनआरएनएकाे रातिकाे बैठकमा एकताकाे रोडम्याप

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ । श्रेष्ठको अध्यक्षतामा हिजो राति बसेको बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने नौ बुँदे प्रस्ताव पारित गरेको हो । 

जसमा एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार्ने, २०२५ मे ३–४ तारिखमा भएको महाधिवेशनबाट सर्वसम्मत निर्वाचित महेशकुमार श्रेष्ठ नेतृृत्वको कार्यसमितिलाई स्वीकारेर संघको केन्द्रीय कार्यालयमा पदासिन गराउने र बाह्रौं महाधिवेशन सहमतिपत्रमा हस्ताक्षर भएको ६ महिनाभित्र सम्पन्न गर्ने उल्लेख छ । 

महाधिवेशन पारदर्शी र विश्वासयोग्य रुपमा सम्पन्न तथा नियमित कार्यालय सञ्चालनका निम्ति स्टेअरिङ कमिटी गठन गर्ने र सो कमिटीले विधान र कार्यविधिमा व्यवस्था भएअनुसार निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधि व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने पनि प्रस्तावमा जनाइएको छ । 

प्रस्तावको मर्म कार्यान्वयन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ । उनले केसी समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट विगतका विवाद समाधान गर्ने, पारदर्शीता, विश्वासनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘एनआरएनए कुनै व्यक्ति वा समूहको संगठन होइन, यो विश्वभरका नेपालीको साझा घर हो । जसलाई हामी सबैको सहकार्यले मात्र मजबुत बनाउन सक्छ,’ उनले भने ।

टिप्पणीहरू