तयारी कुलमानको, चिन्ता रास्वपाको
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ दल खोल्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आत्तिएको संकेत छ । समर्थकहरुको संख्यामा ह्रास आउनसक्ने खतरालाई मध्यनजर गर्दै नेताहरुले एक्लाएक्लै अगाडि गए जेलको बास निश्चित रहेको भन्दै त्रासदी सिर्जना गर्न खोजेका हुन् ।
हाल तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले रास्वपाबाटै अलग भएकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा अभियन्ता सागर ढकाल, हामी नेपालका संस्थापक सुदन गुरुङलगायतलाई समेटेर नयाँ दल खोल्न लागेको भनिएको र यसको तयारी अन्तिम चरणमा पुगेको भन्दै रास्वपा केन्द्रीय सदस्य पुकार बमले आफूहरुसँग सहकार्यमा नआए एक दिन सबैले रवि लामिछाने जस्तै दुःख पाउने निश्चित रहेको चेतावनी दिएका छन् ।
अघोषित दबाब सिर्जना गर्न उनले आज सात बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेका हुन् । जेलभित्र डिस्को, दोहोरी र र्याप ब्याटलको तालमा बस्नुपर्ने दिन धेरै टाढा नरहेको भन्दै उनले व्यङ्ग्य गरेका छन् ।
‘मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्लाएक्लै जाने हो भने अबको बाटो स्पष्ट छ जेल भित्र’, उनले भनेका छन्, ‘अनि त्यही कालकोठरी जेलभित्र सानो धिपधिपे चिमको उज्यालोमा भजन कीर्तन, कत्थक, डिस्को, नाचगान दोहोरी र र्याप ब्याटलको तालमा एकताको वार्ता गर्ने दिन टाढा छैन ।’
जेनजी युवाहरुसँग संवाद गर्ने मुख्य जिम्मेवारी पाएका बमले फागुन २१ गतेको निर्वाचनपछि साना शक्तिका नेताहरुलाई सम्भावित सरकारले छानीछानी जेलभित्र कोच्ने ठोकुवा पनि गरेका छन् । ‘फागुन २१ मा चुनाव भइहाल्यो भने चुनावको नतिजा फागुन ३० भित्रसम्म आइसक्छ र तिनै पुरानाहरु महागठबन्धनको आडमा जेनजी आन्दोलन पश्चातका अहिले एक्लाएक्लै नयाँ वैकल्पिक भनिएका सानासाना शक्तिहरूलाई र तिनका नेतृत्वहरूलाई चैत्र २०८२ देखिन छानीछानी खोजीखोजी जिल्ला जिल्लामा अनेकौं मुद्दा लगाएर जेलभित्र अनन्तकालसम्म सढाउने निश्चित प्राय छ’, उनले थपेका छन् ।
नेता बमले कुनै दिन सभापति लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध आफूमाथि परेपछि कुलमान, सुमना, ढकाल, गुरुङसहितका नेताहरूले राम्ररी थाहा पाउने पनि बताएका छन् । उनले विस्तृतमा भनेका छन्, ‘भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि (नीतिगत संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलन लगायतका मुद्दा) र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थन गरेका नेतृत्वकर्ता बालेन साह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल, सोम शर्मा लगायतमाथि देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दङ्गा उत्प्रेरणा, आन्दोलनमा भीडलाई उक्साएको, विध्वंश मच्चाएको, आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेको लगायत मुद्दा दायर पश्चात् तपाईहरु लाई के भन्ने ? दोषी करार नहुन्जेल त्यो बेला तपाईंहरू नेतृत्व गर्न अयोग्य ठहर हुन्छ ? १०,१५ जिल्लामा मुद्दा दायर भई अनुसन्धानको लागि जेलभित्र रहेको बेला नयाँ पार्टीका अध्यक्ष कुलमान घिसिङ, पदाधिकारी र नेतृत्वबाट तपाईहरु पछाडि हट्नुहुन्छ ? बालेन शाहले फेरि पनि समर्थन गर्नुहुन्छ ?’
बम नेतृत्वको समूहले डेढ साताअघि घिसिङको नेतृत्वमा रास्वपा पुनर्गठन हुन लागेको मिडिया ट्रायल गरेको थियो । त्यसमा घिसिङले कुनै चासो नदेखाएपछि बमसहितका रास्वपा नेताहरु रुष्ट बनेको जानकारहरु बताउँछन् ।
टिप्पणीहरू