प्रधानमन्त्रीले फर्काइदिएका राजदूतलाई राष्ट्रपतिको साथ

प्रधानमन्त्रीले फर्काइदिएका राजदूतलाई राष्ट्रपतिको साथ

नेपालको परराष्ट्र नीतिमा अचम्मको मोड देखापरेको छ । अन्तरिम सरकारले फिर्ता बोलाएका ११ जना नेपाली राजदूतलाई हिजो सर्वोच्चले दिएको अन्तरिम आदेशका वावजुद आज परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्रीले कुनै हालतमा स्वदेश आउन आदेश दिनुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारको राजधानी दोहामा त्यसैगरी तानिएकामध्येका एक राजदूत रमेशचन्द्र पौडेललाई नजिकै राखेर त्यहाँ रहेका नेपालीहरूलाई सम्बोधन गर्नुभएको छ । उता परराष्ट्र मन्त्रालयले चीन,जर्मनी, इजयल,मलेसिया,कतार,रुस, साउदी अरेबिया,स्पेन,संयुक्त अधिराज्य,जापान र संयुक्त राज्य अमेरिकामा कार्यरत ११ जनालाई कात्तिक २० भित्रै स्वदेश आइपुग्न पुनः आज अर्को आदेश दिएको छ।

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कार्कीले ‘अर्को व्यवस्था नभएसम्म मन्त्रालयमै हाजिर हुन’ निर्देशन दिनुभएको छ । भूतपूर्व प्रधानन्यायाधीशको भूमिकामासमेत रहनुभएकी प्रधानमन्त्रीले अदालतको हिजोको अन्तरिम आदेशलाई ‘प्रशासनिक फाइल’मा सीमित राख्दै ‘हवाई टिकट काटिएको छ,मितिभित्र आउनू’ व्यहोराको आदेश दिनु आफैमा अदालतको अपहेलना हो ।

आजै कतारमा राष्ट्रपति पौडेल नेपाली समुदायबीच उत्साहित मुद्रामा देखिँदा राजदूत पौडेल भने प्रधानमन्त्रीको दोस्रो ताकेतापत्र पढ्न बाध्य थिए ।फर्काइएका राजदूतहरूले अब प्रधानमन्त्रीको आदेश सुन्ने कि राष्ट्रपतिको माया मनन गर्ने ? यही दोधारमा नेपालको कूटनीति रुमल्लिएको अवस्था छ ।

टिप्पणीहरू