सरकारसँग सभामुख असन्तुष्ट

सरकारसँग सभामुख असन्तुष्ट

सभामुख देवराज घिमिरेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसदलाई कमजोर पार्ने दाउमा सरकार लागेको बताउनुभएको हो । 

उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षसहित सांसदहरूको स्वकीय सचिव हटाएर सदनलाई कमजोर पार्न खोजेको सभामुख घिमिरेको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘कानुनी प्रबन्धले अहिले सभामुख र उपसभामुख छौँ, तर जानेर वा नजानेर यो सरकार संसदलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने काममा लागेको छ ।’

सभामुख घिमिरेले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच सहकार्य र समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा अहिले त्यसो हुन नसकिरहेको पनि बताउनुभयो । 

सांसदहरुलाई स्वकीय सचिवको सुविधा कटौती गरिएकोप्रति आपत्ति जनाउँदै उहाँले थप्नुभयो, ‘सांसदहरूलाई सहयोग गर्न राम्रो कार्यालय र कर्मचारी दिएर सक्रिय बनाउनुपर्ने हो, तर सरकारले दिएको एउटा स्वकीय सचिव काट्ने काम मितव्ययीताको नाममा र पारदर्शिताको नाममा संसदमाथि हमला गरेको छ ।’

सभामुख घिमिरेले हिजो प्रधानमन्त्रीसँगको छलफलमा पनि आफूले सांसदहरूको स्वकीय सचिव कटौतीबारे प्रश्न उठाएको, तर त्यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया पाएको जानकारी गराउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री कार्कीले स्वकीय सचिव कटौती गर्ने निर्णय अर्थमन्त्रालयले गरेको जवाफ दिएर पन्छिने प्रयास गर्नुभएको थियो ।

टिप्पणीहरू