बहुपत्नीवाला एमाले नेता जेल चलान

बहुपत्नीवाला एमाले नेता जेल चलान

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाहको मुद्दामा दोषी ठहर भएका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौंको आदेशबमोजिम डिल्लीबजार कारागार पठाइएको हो । 

जिल्ला प्रहरी परिसर,काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले अदालतको पत्रबमोजिम उनलाई डिल्लीबजार कारागार पठाइएको जानकारी दिए । जनआस्थासँग उनले भने,‘उहाँलाई आज अदालत उपस्थित गराएका थियौं । अदालतको पत्रबमोजिम डिल्लीबजार कारागार पठाइसकेका छौं ।’

पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत, काठमाडौंमा बहुविवाहको मुद्दा हालेकी थिइन् । जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । 

उच्चले जिल्लाको फैसला सदर गरे पनि राजनीतिक संरक्षणमा उम्किंदै आएका उनी पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए । फरार अभियुक्तलाई सुरक्षामा राखेको भनि एमाले नेताहरुले नै चर्को विरोध जनाइरहँदा हिजो परिसरबाट खटिएको टोलीले उनलाई धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो । 

एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्ध मानव तस्करी, ठगी, चेक बाउन्सजस्ता मुद्दा विचाराधीन अवस्थामा रहेको पाइएको छ ।

टिप्पणीहरू