घनश्याम भुसालले सुनाए नयाँ पार्टीको विशेषता
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टी खोल्ने भएका छन् ।
माओवादी केन्द्रसहित ९ वाम दलको एकताप्रति असहमति राख्दै छुट्टै समूह बनाएका उनले समाजवादी चरित्रको पार्टी गठन गर्ने घोषणा गरेका हुन् । आज पत्रकार सम्मेलन गरेर भुसालले नयाँ बनाउने पार्टीका २० बुँदे विशेषता पनि सार्वजनिक गरे ।
दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादी रुपान्तरणलाई सुनिश्चित गर्ने विशेषता उक्त पार्टीले बोक्ने उनले बताएका छन् । पार्टीमा पुँजीवाद र साम्राज्यवादी शोषणका विरुद्ध लड्न सक्ने चेतना भएका सदस्यहरूलाई संगठित गर्ने भुसालले सुनाए ।
पार्टीका सदस्यहरू आफ्नै उत्पादनमा बाँच्छन् भन्ने कुराको प्रत्याभूति दिलाउनेसमेत उनको प्रतिबद्धता छ । अर्को विशेषतामा भनेका छन्, ‘कुनै पनि फौजदारी मुद्दा लागेको व्यक्तिको सदस्यता स्वतः निलम्बन हुनेछ । आदेश र फरमानमा होइन, संवाद र सहकार्यबाट पार्टी अघि बढ्नेछ ।’
त्यस्तै, सबै क्षेत्रमा राष्ट्रिय पुँजीको विकास गरी बेरोजगारी अन्त्य गर्ने योजनाको नेतृत्व, सामाजिक विभेदलाई उन्मुलन गर्ने अभियानलाई अगुवाई र भ्रष्टाचारलाई अन्त्य गर्दै र सुशासनलाई प्रत्याभूति गर्नसक्ने समाजवादी ध्येयको सङ्गठन गराउने भुसालको उद्घोष छ ।
टिप्पणीहरू