एकता अभियान र बिप्लवको अलमल

एकता अभियान र बिप्लवको अलमल

टुटफुट,विभाजन र एकताको लामो शृंखला पार गर्दै आएको नेपाली कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको सिलसिला जारी रहँदा १० वटा वामपन्थी घटक एकीकृत भएका छन् । यसै क्रममा हिजोबाट 'नेपाली कम्युनिष्ट पार्टी' नामको अर्को वामपन्थी दल अस्तित्वमा आएको छ । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न समूहमा छरिएर रहेका वामपन्थीहरूले पार्टी एकता गरी नेकपा गठन गरेका हुन् । यो एकताले कम्युनिष्ट आन्दोलनलाई नयाँ चरणमा पुर्याएको एकथरीले टिप्पणी गरिरहँदा फुटको शृंखला भने रोकिएको छैन । माओवादी केन्द्र,एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपामा विग्रह निम्तिएको छ । 

एकताप्रति असहमत हुँदै माओवादी केन्द्रका जनार्दन शर्मा,एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल लगायतले छुट्टै अभियान शुरु गरेका छन् भने रामकुमारी झाँक्रीहरूको एमालेमा फर्किने तयारी छ । तर, यो एकताबाट नेत्रविक्रम चन्द विप्लवले सबैभन्दा ठूलो धक्का व्यहोर्नुपरेको छ । दुई अलग समूहले पार्टीमा विद्रोह गरी एकतामा गएको हो ।   

समाजवादी मोर्चाको संयोजकसमेत रहेका विप्लव केही महिनाअघिसम्म एकताको पक्षमै थिए । गत वर्ष नै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय केन्द्रीय समितिबाट पारित गराएका उनी माओवादीमा मिसिन हतारिएको जस्तो देखिन्थ्यो । कतिसम्म भने विप्लव समूहका केही नेताले प्रचण्डका कारण एकता भाँडिएको आरोपसमेत लगाएका थिए । 

तर,जेनजी मुभमेन्टपछि प्रचण्ड र माधव नेपालसहित पहिलो पुस्ताका नेता अलोकप्रिय भएको निष्कर्षसहित उनीहरूको नेतृत्व स्वीकारेर एकता नगर्ने निर्णयमा पुगेका विप्लवले आफ्नै पार्टी एकढिक्का राख्न सकेनन् । पोलिटब्युरो सदस्य चिरन पुन र स्थायी समिति सदस्य कर्णजित बुढा छुट्टाछुट्टै समूह बनाएर एकतामा सामेल भए । 

'एकपल्ट भेट हुँदा देशभक्तहरू मिलेर जानुपर्छ भन्ने उहाँहरूको भनाइ थियो, त्यसपछि थप कुरा अघि बढेको छैन ।'

पहिलो पटक चुनावमा जान लागेको विप्लव समूहलाई यसले ठूलो घाटा लाग्ने अनुमान गरिएको छ । २०६४ पछि विप्लवहरू निर्वाचनमा सहभागी भएका छैनन् । २०७० को दोस्रो संविधान सभाको निर्वाचनयता भएका सबै चुनाव बहिष्कार गर्दै आएको यो समूहले अन्तत: चुनावी राजनीतिमा प्रवेश गर्ने तयारीसहित केही दिनअघिमात्रै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । त्यसअघि बुढाथोकीकै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्न समिति गठन भएको थियो । 

विप्लव समूहका एक नेताले भने दुई जनाले छोडेर जाँदैमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् । अझै पनि वाम सहकार्यको सम्भावना अन्त्य नभएको बताउँदै उनले नयाँ आधारमा एकता हुनसक्ने जनाए । त्यसका लागि प्रचण्ड र माधवले नेतृत्व छोड्नुपर्ने उनको आशय छ । 

'वास्तविक क्रान्तिकारी शक्तिहरू सबै मिल्नुपर्छ भन्ने हो,तर एकताको आधार के हुने भन्नेमा अहिले कुरा मिलेन', उनले भने, 'मुख्यत: विचार र नेतृत्वमा उहाँहरूसँग हामी सहमत हुन नसकेको हो ।'

यता,विप्लव समूह एमालेसँग कार्यगत एकताको प्रयासमा रहेको चर्चा पनि भैरहेको छ । नेकपा एमालेसँग उनीहरू निरन्तर सम्पर्कमा रहेको बताइन्छ । विप्लवले एमालेसहितको वाम एकताको पक्षमा रहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । 

पछिल्लो राजनीतिक परिस्थिति र वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा पनि एमाले अध्यक्ष केपी ओली र उनमा समानता देखिन्छ । दुवै जनाले सर्वपक्षीय सरकारको प्रस्ताव राखेका छन् । 

तर,एमालेका एकजना उपमहासचिवसँग हालै भेटवार्ता गरेका एक नेताले भने एमालेसँग पार्टी एकता,चुनावी सहकार्य वा वाम मोर्चाको विषयमा ठोस कुराकानी नभएको दावी गरे । यद्यपि सहकार्यको प्रस्ताव आएको स्वीकार गर्दै उनले भने, 'एकपल्ट भेट हुँदा देशभक्तहरू मिलेर जानुपर्छ भन्ने उहाँहरूको भनाइ थियो, त्यसपछि थप कुरा अघि बढेको छैन ।' 

आगामी फागुन २१ को निर्वाचन लड्ने तयारीमा रहेको विप्लव समूह अहिलेको सरकारले निष्पक्ष र धाँधलीरहित चुनाव गराउनेमा ढुक्क छैन । बालेन साह र सुदन गुरुङहरूलाई स्थापित गर्न नक्कली चुनाव गराइनेसक्ने आशंका उनीहरूमा देखिन्छ ।

टिप्पणीहरू