गुण्डुको गेटमा राति केरकार

गुण्डुको गेटमा राति केरकार

भक्तपुरको गुण्डुमा मध्यरात सर्वसाधारणलाई रोक्दै सोधपुछ गर्ने युवाहरूको भिडियो सार्वजनिक भएको छ ।

कानुनअनुसार,व्यक्तिलाई सडकमा रोकेर “कहाँ जान लाग्या ?” वा “राति किन हिँड्नुभएको ?” भनेर सोधपुछ गर्ने अधिकार सामान्य नागरिकसँग छैन । नेपालको सङ्घीय अपराध संहिता २०७४ र प्रहरी ऐन २०१२ ले स्पष्ट रुपमा उल्लेख गरेको छ कि यस्तो अधिकार प्रहरी वा अनुमतिप्राप्त कानुनी अधिकारीसँग मात्र हुन्छ।

तर सार्वजनिक भिडियोमा केही हट्टाकट्टा युवाले राती  मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर सोधिरहेको देखिन्छ - “कहाँ हिंड्या हो ?”

रोकिएका युवाले जवाफ फर्काउँछन्, “ घर कहाँ,के यति राती भनेर सोध्ने तपाईंहरुसँग के छ ? तपाईंहरूको अनुमति लिनुपर्ने हो ?"

स्थानीयका अनुसार सोधपुछ गर्ने ती युवा एमाले नेता महेश बस्नेत नजिकका हुन् । उनीहरूले राती गाउँमा हिँड्ने सर्वसाधारणलाई ‘सुरक्षाका नाममा’ सोधपुछ गर्ने गरेको पाइएको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यंग्यात्मक प्रतिक्रिया बर्सिएका छन् । कुँवर नामक प्रयोगकर्ताले लेखेका छन्  - “ओलीको सुरक्षामा खटिएका रे ! यिनको बुद्धि!”

त्यस्तै मेघ गिरीले टिप्पणी गरेका छन् - “छाउराहरू!”

पछिल्लो समय पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गुण्डुमा सरेका छन् ।  त्यसयता स्थानीयले राती सोधपुछको क्रम बढेको गुनासो गर्दै आएका छन्।

“गाउँमा शान्ति रहोस् भनेर आग्रह गरेका थियौं,तर अहिले त राति हिँड्न पनि डर लाग्ने भयो,”एक स्थानीयले भने।

कानुन विज्ञका अनुसार यस्तो गतिविधि व्यक्तिको स्वतन्त्रता हनन र उत्पीडनको दायरामा पर्छ । यदि पीडितले उजुर गरे, दोषीविरुद्ध कानुनी कारबाही हुन सक्छ ।

टिप्पणीहरू