विशेष बढुवा दिँदै प्रहरी हेडक्वार्टर

विशेष बढुवा दिँदै प्रहरी हेडक्वार्टर

नेपाल प्रहरीले कर्मचारीको बढुवापछि निजको पारिश्रमिक र सुविधा तल्लो पदको भन्दा कम हुन नसक्ने प्रष्टीकरण दिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएर अवकाश लिएका तर वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को निवृत्तिभरण पाएका कतिपय पूर्वकर्मचारीको गुनासोपछि प्रहरी हेडक्वार्टरले त्यसबारे स्पष्ट पारेको हो । 

महानिरीक्षकको सचिवालयले प्रचलित कानूनी व्यवस्थासमेत उल्लेख गर्दै अनिवार्य अवकाशको अन्तिम समयमा सम्मानस्वरुप दिइएको विशेष बढुवाले निजले साविक प्रहरी नायब निरीक्षक र वरिष्ठ नायक निरीक्षक पदमा खाईपाई आउने सेवासुविधाभन्दा कम हुने विषय न्यायोचित मान्न नसकिने बताएको छ । 

‘कुनै पनि कर्मचारीको बढुवा भएपछि निजको पारिश्रमिक–सुविधा तल्लो पदको भन्दा कम हुन नसक्ने हुँदा हालको पदबाट अवकाश हुँदा तल्लो पदबाट अवकाश लिँदा पाउने सुविधाभन्दा कम नहुनेगरी निवृत्तिभरण कायम हुन उपयुक्त हुने भनी तालुक गृह मन्त्रालयबाट मिति २०७२–०५–०४ गते निर्णयसमेत भएको देखिँदा निजहरुको सेवासुविधाका सम्बन्धमा समेत निजहरुले तल्लो पदमा अवकाश हुँदा पाउने सेवासुविधा भन्दा कम नहुनेगरी सेवासुविधा प्रदान गर्न उपयुक्त हुने,’ पत्रमा भनिएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम १२९ को उपनियम (२) मा निवृत्तिभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा आठ वर्ष बहाल रहेको प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम १२७ बमोजिम अनिवार्य अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकाश दिइने व्यवस्था छ । 

त्यसरी स्तरवृद्धि वा बढुवा पाउने कर्मचारीलाई निजले तल्लो तहबाट अवकाश लिँदा पाउने सुविधाभन्दा कम सुविधा नहुनेगरी सुविधा प्रदान गर्नुपर्ने पनि प्रावधान छ । तर, पूर्वइन्स्पेक्टरहरु रामबहादुर कार्की, जयराम दुलाल, भोजबहादुर सेनवलीलगायतले आफूहरुको निवृत्तिभरण रकम व्रिष्ठ सईको भन्दा कम रहेको भन्दै हेडक्वार्टरमा निवेदन दिएका थिए ।

टिप्पणीहरू