कास्कीका प्रहरीमाथि थुनुवालाई यातना दिएको आरोप
जिल्ला प्रहरी कार्यालय,कास्कीका प्रहरी अधिकृतहरुमाथि अभियुक्तलाई शारीरिक र मानसिक यातना दिएको आरोप लागेको छ । मुद्दा शाखाका वरिष्ठ सई प्रकाश खत्री र वडा प्रहरी कार्यालय, बैदामको उजुरी शाखामा कार्यरत असई यामप्रसाद गौतममाथि सो गम्भीर आरोप लागेको हो ।
उनीहरुको कुटपिटबाट सवारी ज्यान मुद्दाका अभियुक्तलाई पोखराको बिजी अस्पताल एण्ड रिसर्च सेन्टर नै भर्ना गर्नुपरेको थियोे । गत असोज ३० गते बिहान ५ बजेर २५ मीनेटमा पोखरा महानगरपालिका–१५ बस्ने २९ वर्षीय रोहित श्रेष्ठले चलाएको ग.२ च ७१२१ नम्बरको कारले वडा नम्बर–६, लेकसाइडस्थित स्ट्रिट नम्बर १८ सडकखण्डमा २८ वर्षीय मिलन क्षेत्रीलाई ठक्कर दिएको थियो ।
त्यसपछि उनी फरार भएकोमा स्याङ्जाको आँधिखोला गाउँपालिका–३ घर भएका मिलनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भयो । यता पक्राउ परेका रोहितसँग लेनदेनको कुरा नमिलेपछि वरिष्ठ सई खत्री र असई गौतमले शारीरिक र मानसिक यातना दिएको आरोप लाग्यो । उनीहरुले ‘मापसे गरेर सवारी चलाएको’ स्वीकार गर्न दबाब दिएको रोहितको परिवारले जनाएको छ ।
वरिष्ठ सई खत्री र असई गौतमले कोठामा थुनेर कुटपिट पनि गरेको उनीहरुको आरोप छ । उनलाई अस्पताल भर्ना गरेपछि मात्र सो कुरा थाहा पाएको भन्दै परिवारका सदस्यहरु भन्छन्-उनीहरुले क्लब र होटलको फोटो निकालेर धम्क्याउने गरेका छन् । ‘रक्सी खाएर गाडी चलाएको स्वीकारिनस् भने यो गर्छौं,त्यो गर्छौं भनेर थर्काउने गर्दा रहेछन् । तलाईँ जसरी पनि जेल पठाएरै छोड्छौं भनेर मानसिक यातना दिन्छन् । उनीहरुको यातनाले छोरालाई अस्पताल नै लग्नुपरेको थियो’,परिवारले भन्यो ।
कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले उनको बयान भइरहेको जानकारी दिए । एकाध दिनमा रोहितलाई अदालतमा उपस्थित गराइने उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘बयान भइरहेको छ । आजभोलिमा अदालत पेश गर्छौं ।’ उनलाई यातना दिएको कुरा झुठ्ठो भएको डिएसपी बस्नेतको दाबी छ ।
प्रहरीले कसैलाई यातना दिन नमिल्ने र नदिने उनको जिकिर छ । भन्छन्,‘यो कुराचाँहि झुठ्ठो हो । प्रहरीले अनुसन्धान गर्ने हो । उनीहरुलाई कुटपिट गरेर प्रहरीले के पाउँछ ? कसैलाई यातना दिन मिल्दैन । यातना दिनेलाई विगतमा कारबाही गरेका थियौं । अहिले त्यस्तो छैन ।’
गत भदौ २७ गते कास्की प्रहरीले वडा नम्बर–५, प्रस्याङचोकबाट १६ वर्षीय विशाल केसी र ४८ वर्षीय होमबहादुर केसीलाई २२ बोरको राईफल र कालिजसहित पक्राउ गरेको थियो ।
टिप्पणीहरू