‘स्क्रिन सेयर’ मार्फत ठगी, प्रहरीले गरायो सचेत
ह्वाट्सएप कलमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाएर ओटीपी कोड चोरी गर्ने गिरोह सक्रिय भएपछि प्रहरीले सचेत गराएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै आफ्नो स्क्रिन सेयर नगर्न सतर्क गराएको हो । प्रहरीका अनुसार ठगी गर्ने गिरोहले शुरुमा फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा आकर्षक र सस्तो मूल्यमा विभिन्न सामानको विज्ञापन गर्ने गर्छन् ।
त्यसपछि विज्ञापन देखेर सम्पर्कमा आउने ग्राहकलाई सामान खरिदका लागि अग्रिम भुक्तानी गर्न लगाइन्छ । पैसा पठाइसकेपछि ‘पैसा आएन’ वा ‘प्रणालीमा समस्या देखियो’ भन्ने बाहाना बनाएर ग्राहकलाई ह्वाट्सएपमा भिडिओ कल गर्न बाध्य पारिन्छ ।
सोही कलमा मोबाइलको ‘स्क्रिन सेयर’ गर्न लगाई ओटीपी कोड चोरेर खाता ह्याक गरी गिरोहमा संलग्नहरूले रकम निकाल्ने गर्छन् । यसतर्फ सचेत गराउँदै प्रहरीले ‘कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने नगरौं, ठगी हुनबाट बचौं’ भनेको छ ।
यस्ता शंकास्पद गतिविधि देखिए वा कोही ठगीमा परेको जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
टिप्पणीहरू